एक वर्षीय बालकले जिते कोरोना

Posted on: 27 Jun, 2020

असार १३, तनहुँ | तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा आज प्राप्त भएको रिपोर्टअनुसार बालक कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । डा श्रेष्ठका अनुसार एक वर्षीय बालकका २५ वर्षीय आमा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

त्यस्तै ऋषिङ गाउँपालिका–६ का २८ र २५ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रले जनाएको छ । चार जनाको नै असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । चार जनालाई नै सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर डिस्चार्ज गरिएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ का २२ वर्षीय युवक पनि कोरोना जितेर आज घर फर्किएका छन् । असार ५ गते कोरोना पुष्टि भएका ती युवकको पनि असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अजय श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएकामा तीनजना उपचारपछि घर फर्किएको जानकारी दिनुभयो ।

त्यसैगरी घिरिङ गाउँपालिका–१ का २६ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् । असार १ गते कोरोना पुष्टि भएका उनको असार ४ गते दोस्रो पिसिआर पोजिटिभ आएपछि असार ११ गते गरिएको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । ती युवालाई भने आइतबार स्थानीय तहको जिम्मामा डिस्चार्ज गरिने उपचार केन्द्रले जनाएको छ । 

जिल्लामा एक सय दुई जनामा कोरोना पुष्टि भएको छ भने १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । व्यास नगरपालिकाका एक, शुक्लागण्डकी नगरपालिकाका तीन, ऋषिङ गाउँपालिकाका सात, घिरिङ गाउँपालिकाका पाँच, आँबुखैरेनी गाउँपालिका एकजना कोरोना सङ्क्रमणमुक्त भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!