पहिरामा पुरिएका दश जनाको शव भेटियो

Posted on: 13 Jul, 2020

असार २९, तनहुँ | तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । रात परेकाले बेपत्ता भएकाहरुको खोजी कार्यलाई आजलाई स्थगित गरिएको र मङ्गलबारबाट पुनः खोजी कार्य तीव्र पारिने पौडेलले बताउनुभयो ।

“दिनभरको प्रयासबाट दश जनाको शव निकाल्न सफल भएका छौँ, भोलिबाट पुनः खोजीकार्य तीव्र पारिनेछ, बेपत्ता भएकाको खोजीका लागि ठूला उपकरणसमेत प्रयोग गरिएको छ”, पौडेलले भन्नुभयो । पहिराले पुरिएर बेपत्ता भएका ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका एकै परिवारका पाँच, व्यास–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिराले पुरिएर ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै पाँच वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापाको शव भेटिएको छ । उनीहरु अनबहादुर थापाका छोराबुहारी हुन् । पहिराले पुरिएर घाइते अनबहादुरका श्रीमती ज्योतिमायाको भने उद्धार पछि पोखरामा उपचार भइरहेको छ । 

यस्तै व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको शव फेला परेको छ । पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेल बेपत्ता छन् । पहिराले पुरिएर घाइते व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!