तनहुँलाई पर्यटन प्रवद्र्धनमा जोड

Posted on: 08 Jan, 2019

 पुस २४, काठमाडौँ  | पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको ठूलो सहयोग आवश्यक रहेको बताउनुभयो । 

“पोखरा जाने पर्यटकमध्ये केही पर्यटकलाई तनहुँमा राख्नसके पनि तनहुँको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्नेछ, उहाँले भन्नुभयो । समाजले तनहुँको पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयलाई दबाब दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले तनहुँको पर्यटन विकासका लागि पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

सरकारले सन् २०२० का लागि चयन गरेको १०० वटा पर्यटकीय क्षेत्रमध्ये तनहुँको व्यास–परासर र सिद्धगुफा भिमाद क्षेत्र सूचीमा परेको छ । समाजका संस्थापक अध्यक्ष राजन पन्त तनहुँ क्षेत्रको पर्यटन विकासका लागि काठमाडौँ बस्ने व्यवसायीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 

व्यास परासर क्षेत्रबाहेक बन्दिपुर, भानु, तनहुँसुर, छिम्केश्वरी, देवघाट, सेती नदी, थानी माईको मन्दिर, मिर्लुङकोट तनहुँका प्रमुख पर्यटकीय गन्तव्यस्थलहरु रहेका छन् । समाजका अध्यक्ष शेखरबहादुर थापा तनहुँको पर्यटन विकासका लागि तनहुँका पर्यटन व्यवसायी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । विसं २०७१ मा स्थापना भएको समाजले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आएको समाजका महासचिव आशुतोष प्रधानले जानकारी दिनुभयो । 

साधारण सभाले गुप्तबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजका उपाध्यक्षमा शुक्रकुमार श्रेष्ठ, महासचिव दामोदर थापा, सचिव राजेन्द्र जिसी, कोषाध्यक्ष भुवन श्रेष्ठ, सहकोषाध्यक्ष सुमित्रा ढकाल र सदस्यमा केशवलाल श्रेष्ठ, क्षितिज गैरे, राजु गैरे र शुकबहादुर लामा हुनुभएको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!