तीन वर्षभित्र सबै ठाँउमा बिधुत सेवा पुग्छ: ऊर्जामन्त्री

Posted on: 04 Feb, 2017

माघ २२, ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा बिधुतको केन्द्रीय प्रशारण लाइन पुग्ने बताउनुभएको छ । 

“समग्र ग्रामीण विद्युतीकरणको योजनाअनुरुप अबको तीन वर्षमा नै मुलुकका सबै क्षेत्रमा विद्युत् सेवा पुग्ने गरी सरकारले काम गरिरहेका छन्,” ताप्लेजुङ सदरमुकाममा शुक्रबार भएको एक कार्यक्रममा उहाँले भन्नुभयो — “केन्द्रीय प्रशारण लाइन पुगेका क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने र नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने उदेश्यले नै सरकारले अहिले उज्यालो नेपाल अभियान सञ्चालन गरेका छन् ।” 

मन्त्री शर्माले आफूले मन्त्रालय सम्हालेयता ताप्लेजुङ, रुकुम, जाजरकोट, कालिकोटजस्ता क्षेत्रमा केन्द्रीय प्रशारण लाइन पु¥याएको र बाँकी दुर्गम क्षेत्रमा पनि क्रमशः विद्युत् पु¥याउने सम्भावनाहरुको खोजीमा लागेको बताउँदै अबको तीन वर्षभित्रै बाँकी रहेका ३५ देखि ४० प्रतिशत जनताको घरघरमा केन्द्रीय प्रशारण पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

“मुलुकका सबै नदिनालाबाट विद्युत् उत्पादन गर्न एवम् सदुपयोग गर्न नीतिगत निर्णयको खाँचो महसुस गरेर सरकारले हाल ३७ बुँदे कार्ययोजनालाई अघि बढाइएको छ,” उहाँले भन्नुभयो — “पहिलो योजनाअन्तर्गत लोड सेडिङमुक्त गराउने अभियानका क्रममा काठमाडौँ, पोखरा, बुटवल, वीरगन्जलगायतका सहरलाई लोडसेडिङ मुक्त बनाइएको र अन्य क्षेत्रलाई क्रमशः लोडसेडिङ मुक्त बनाउने काम भइरहेको छ ।” 

मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई सार्थक तुल्याउन जनता र सरकारको लगानीमा एक जिल्ला एक विद्युत् परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागिएको चर्चा गर्दै प्राथमिकता प्राप्त योजनालाई फास्ट ट्रयाकबाट सम्पन्न गर्न नीतिगत रुपमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

विद्युत् चुहावट न्यूनिकरणका लागि अब चाँडै नै स्मार्ट मिटर जडान गर्ने र मोबाइलबाटै विद्युत् महसुल तिर्ने गरी बातावरण बनाउन अध्ययन तथा आवश्यक काम भइरहेको समेत उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!