ताप्लेजुङमा तीन प्रतिशत शारीरिक अशक्त

Posted on: 08 Oct, 2016

असोज २२, ताप्लेजुङ | यहाँको कुल जनसङ्ख्याको तीन प्रतिशत व्यक्ति शारीरिक रुपमा असक्षम (अपाङ्गता) रहेको पाइएको छ । 

महिला तथा बालबालिका कार्यालयका अनुसार जिल्लामा तीन हजार ७३० व्यक्ति शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको कुल जनसङ्ख्या एक लाख २७ हजार ४०० छ । महिला विकास अधिकृत मञ्जु लोहनीले कुल जनसङ्ख्यामध्ये एक लाख २३ हजार ७६१ जनामा कुनै किसिमको अपाङ्गता नदेखिएको जानकारी दिनुभयो । 

यस्तै ९११ पुरुष र ६३५ महिला गरी एक हजार ५४६ जना यो प्रकृतिका अपाङ्गता भएका नागरिक छन् । शारीरिकपछि दृष्टिविहीनता र कमजोर दृष्टि भएका नागरिक धेरै छन् । यो प्रकृतिका ६३७ जना अपाङ्गता भएकामा ३३६ महिला र ३०१ पुरुष छन् । 

यस्तै २१६ महिला र २८९ पुरुष कम सुन्ने क्षमताका नागरिक छन् । बोल्नमा कठिनाइ हुने व्यक्तिको सङ्ख्या ३५१ छ । तीमध्ये १६० महिला र १९१ पुरुष छन् । लोहनीका अनुसार १८५ महिला र २१३ पुरुष बहुअपाङ्गता भएका व्यक्ति छन् । 

लोहनीले दृष्टिविहीन र बहिरोपन समेत भएका १८ महिला र ३३ पुरुष, बौद्धिक अपाङ्गता भएका ७० र मानसिक अपाङ्गता भएका ८९ महिला र ८३ पुरुष रहेको जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!