ताप्लेजुङमा हिमपात, उच्च क्षेत्रको जनजीवन प्रभावित

Posted on: 25 Jan, 2018

माघ ११, ताप्लेजुङ |  ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । 

बुधबार दिउँसो भएको सामान्य वर्षासँगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् । 

हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोको बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरुपमा चिसो बढेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा समेत बाक्लो हिउँ परेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

हिउँ परेसँगै हिउँमा रमाउन चाहने स्थानीय मानिस सुकेटार हुँदै पाथीभरा मन्दिरसम्मको भ्रमणमा निस्कन थालेको स्थानीय इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो । गएका वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा ढिला गरी हिमपात भएको हो । गएका वर्षमा कात्तिक मंसिरदेखि नै हिउँ पर्ने गर्थ्यो  । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!