फ्रि वाइफाई म्याग्दी बनाउन देउसीभैलोमार्फत बेलायतमा २५ लाख सङ्कलन

Posted on: 01 Nov, 2016

कात्तिक १६, म्याग्दी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् । 

म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गरेको मोना युकेका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक योगकुमार फगामीले बताउनुभयो । 

सहयोगदाताले म्याग्दीका सबै बस्तीमा इन्टरनेट प्रयोग गरेको छिट्टै देख्न पाइनेमा आशावादी रहेको बताउँदै प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोधसमेत गरेको फगामीले बताउनुभयो । 

मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाले फ्रि वाइफाई अभियान र ज्येष्ठ नागरिक मीनबहादुर शेरचनको सगरमाथा आरोहणको अभियानलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । 

बेनी नगरपालिका र ३५ गाविसमा रहेका विद्यालय, सामुदायिक, स्वास्थ्य चौकीसहित सार्वजनिक महत्वका क्षेत्रमा निःशुल्क र व्यक्तिगत प्रयोजनका लागि मर्मत खर्च जुट्ने गरी इन्टरनेटको व्यवस्था गरिनेछ । 

अभियानअन्तर्गत गाउँगाउँमा इन्टरनेट विस्तारका लागि अप्टिकल फाइवर र वायरलेस प्रविधिको प्रयोग गरिनेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!