धौलागिरिमा ‘थ्रिजी’ सेवा थप विस्तार

Posted on: 04 Apr, 2017

चैत २२, बागलुङ | धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । 

हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुर्याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । 

सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ ठाउँबाट ‘थ्रिजी’ सेवा चल्नेछ । यसअघि यहाँ जम्मा नौ स्थानमा ‘थ्रिजी’ सेवा सञ्चालित थियो । सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा ‘थ्रिजी’ को पहुँच पुग्ने जनाइएको छ । हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गर्ने योजनामा नेपाल टेलिकम लागिपरेको छ । 

‘थ्रिजी’ प्रविधिमार्फत ‘भियोडी’, ‘भिडियो/भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवा उपभोक्ताले पाइरहेका छन् । 

टेलिकमले विभिन्न सुविधायुक्त ‘डाटा प्याकेज’ पनि ल्याएको छ । ‘थ्रिजी’ प्रयोकर्ताले एक ‘जिबी’ डाटा लिन रु ५०० मात्र खर्चे पुग्नेछ, जुन एक महिना अवधिको हुन्छ । यस्तै, पाँच ‘जिवी’ लिँदा रु एक हजार ८०० लाग्ने र त्यसले तीन महिनासम्म असीमित सेवा लिन सकिने जनाइएको छ । 

यस्तै, मुस्ताङ जिल्लाको जोमसोम र खैसाङमा गत वर्ष देखिनै ‘थ्रिजी’ सेवा सुचारु छ । अब ५२ स्थानमा थप हुने सेवाले चारै जिल्लाका सदरमुकाम, मुख्य बजार क्षेत्र र अधिकांश जनसङ्ख्याले बसोबास गर्ने ठाउँमा ‘थ्रिजी’ सेवा पुग्ने जनाइएको छ । सरकारले देशका केही ठाउँमा ‘फोरजी’ सेवा सञ्चालनमा ल्याए पनि धैलागिरिमा सुरु हुन थप एक वर्ष लाग्ने बताइएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!