पाइजाको उपचारमा हङकङबाट रु चार लाख बढी सहयोग

Posted on: 28 Aug, 2017

भदौ १२,म्याग्दी। आन्द्राको क्यान्सरबाट पीडित म्याग्दी रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमाया पाइजाको उपचारमा हङकङबाट रु चार लाख भन्दा बढीको सहयोग जुटेको छ । 

हङकङमा रहेका म्याग्दी पाखापानी र चिमखोलावासीको पहलमा संकलन भएको रु दुई लाख १६ हजार ४१० तथा पात्लेखककी राममाया गर्वुजा ९पाइजा०को पहलमा संकलन भएको रु दुई लाख ५ हजार ३२० गरी कुल रु रु चार लाख २१ हजार ७३० पीडित पाइजालई उपलब्ध गराइएको छ । सो सहयोग समन्वयकर्ता हीराबहादुर थापामार्फत उपचाररत पाइजालाई हस्तान्तरण गरिएको हो । 

उपचारमा आर्थिक अभाव भएपछि जीवनरक्षाका लागि अस्पतालकै श्ययाबाट सहयोगको याचना गरेको सम्बन्धमा राससमार्फत विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि पाइजाको उपचारका लागि आर्थिक सहयोग जुटाएर उपलब्ध गराएको मोना हङकङका अध्यक्ष कर्ण पुनले बताउनुभयो । उहाँले सहयोगदाता सबैलाई धन्यबादसमेत ज्ञापन गर्नुभएको छ । 

यसअघि अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाइजाले रु दुई लाख २८ हजार ४५ सहयोग जुटाएर पीडित पाइजाको उपचारमा सहयोग गर्नुभएको थियो । 

आन्द्राको क्यान्सरबाट पीडित भई भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत पाइजाले आफ्नो उपचारमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन् । विगत दुई महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाइजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भए पनि आर्थिक अभावले उपचार प्रभावित भएको थियो । 

दुई वर्षदेखि सो समस्याबाट पीडित भए पनि पोखराका विभिन्न अस्पतालमा उपचार गर्दा अहिलेसम्म झण्डै साढे पाँच लाख सकिसकेको घरपरिवारको भनाइ छ । कृषि पेसाबाट जीविकोपार्जन गर्दैआएका पाइजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापटसमेत गरेर जुटाएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!