तराईमा आगलागीका घटना कम हुने

Posted on: 01 Sep, 2017

भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हुने घरको सफल परीक्षण गरेकाले आगलागी कम हुने भएको हो । 

नाष्टअन्तर्गतको प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले खरको छानामा माथिबाट माटोले लिप्सँदा छानामा आगलागी हुन नपाउने बताउनुभयो । खरको छानाको माथिबाट भूस र लेसाइलो माटो मुछेर लगाउनुपर्ने बताउनुभयो । 

त्यसको माथि प्लास्टिकले छोपेर माटो बग्न नदिन सकिन्छ । उहाँ भन्नुहुन्छ, “यसो गर्दा माथिबाट अक्सिजन प्रवाह हुन नपाउँदा आगलागीको सम्भावना रहँदैन ।” 

यी घर तराईका विपन्न वर्गलाई लक्षित गरिएको प्रतिष्ठानले जनाएको छ । दुई÷तीन हजार रुपैयाँ खर्च गर्दा घर आगलागीबाट बच्नसक्ने ढुंगेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खर र माटो स्थानीयस्तरमा नै पाइन्छ स्थानीयवासीले प्लास्टिक किन्ने र श्रमदान गरे पुग्छ ।” यसरी बनेको घर न्यानो हुने र आयु बढ्नेछ । स्थानीयवासीले बनाउने तरिकामा प्रविधि थप गर्दा मट्टितेल छर्दा समेत आगो नलाग्ने प्रतिष्ठानको दाबी छ । 

सफल परीक्षणपछि यो प्रविधि झण्डै १३ वटा जिल्लामा प्रदर्शनी गरिसकेको छ । स्थानीय निकायसँगको सहकार्यमा तराईका ग्रामीण बस्तीसम्म यसलाई फैलाइने उहाँ बताउनुहुन्छ । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!