भक्तपुर नगरपालिकामा भूकम्पपीडितको पुनःसर्वेक्षण रोक

Posted on: 31 Jul, 2016

साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ । 

भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा भने लगत सङ्कलन कार्य रोकिएको छ । जिल्लाका छ नगरपालिकामध्ये पाँचले भूकम्प प्रभावितको विगतमा सङ्कलन गरिएको नामावली र सूचना सार्वजनिक भएपछि आएका थप निवेदनसहितको नामावली पठाएर सहजीकरण गरेपछि ती नगरपालिकामा भने नौ दिनदेखि लगत सङ्कलन थालिएको जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय भक्तपुरका निर्देशक धर्मरत्न वज्राचार्यले जानकारी दिनुभयो । 

भक्तपुर नगरपालिकाले भने आफैँले पठाएको लगत नमिलेको र अझै भूकम्पपीडितको नामावली छुटेको जनाई पठाइसकिएकमो नामावली नै फिर्ता गरेपछि लगत सङ्कलन रोकिएको हो ।भक्तपुर नगरपालिकाले सुरुमा लगत पठाएका आधारमा इन्जिनियर, सुपरभाइजर र सामाजिक परिचालकलाई तालिम दिएर एक साताअघि नै लगत सङ्कलनमा खटाउन लाग्दा नगरपालिकाले त्यसलाई रोकेको हो । 

आफैँले ल्याएको थप नामावलीमा फेरि पनि भूकम्पपीडितको नामावली छुटेको भन्दै सूचना सार्वजनिक गरेर अझै नामावली सङ्कलन गरिरहेको र अन्तिम नामावली अझै भक्तपुर नगरपालिकाले नपाएकाले लगत सङ्कलन गर्ने कार्य रोकिएको निर्देशक वज्राचार्यले जानकारी दिनुभयो । 

नगरपालिकाले छिटो नामावली नपठाए समयभित्रै लगत सङ्कलन गर्न समस्या हुने उहाँको भनाइ थियो । भक्तपुर नगरपालिकाका लागि खटाउन तयारी अवस्थामा रहेका जनशक्तिले अहिले काम पाएका छैनन् । 

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारीलाई कार्यालयले दुईदिन तालिम दिएर परिचालन गरेको थियो । लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१, सामाजिक परिचालक १२१ र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिएको छ । 

भूकम्पपीडितको परिचयपत्र लिएका र विगतका सर्वेक्षणमा नाम छुटेर सम्बन्धित नगरपालिकामा निवेदन आएका पीडितका घर घरमा गएर टोलीले पुनःसर्वेक्षण गरेर लागत सङ्कलन गर्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!