बागलुङमा नयाँ रेडियो खुल्यो

Posted on: 31 Aug, 2016

रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँडेलले जानकारी दिनुभयो ।

‘न्याय, समानता र समृद्धिको लागि रेडियो बुर्तिवाङ’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गरि रेडियो स्थापना गरिएको उहाँको भनाइ छ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिवाङमा खोलिएको रेडियोले ग्रामिण भेगका नागरिकलाई सूचनाको सरल पहुँचमा जोड्ने विश्वास लिइएको छ । ‘दुर्गम भेगका जनसाधारणसम्म सूचनाको सहज पहुँच पु¥याउन रेडियो स्थापना गरिएको छ’ म्यानेजर कँडेलले भन्नुभयो ‘यस क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण र जागरणको लागि पनि रेडियोबाट टेवा पुग्ने विश्वास लिएका छौं ।’ 

बुर्तिवाङ बजारमा मुख्य स्टेशन रहेको रेडियोको टावर भने बुर्तिवाङकै अर्नाकोट डाँडामा राखिएको छ । परिक्षणकालमा गीत, सङ्गीत मात्र प्रसारण गरेर स्रोता प्रतिक्रिया लिने काम भइरहेको रेडियो व्यवस्थापनले जनाएको छ । ५ सय वाट क्षमताको रडियो प्रसारण बागलुङको पश्चिम भेगसँगै छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम, रोल्पा सम्मका केही भूभागमा पुग्ने जनाइएको छ । रेडियो बुर्तिवाङलाई एफ.एम. ब्याण्डको ९५ दशमलव ६ मेगाहर्जमा सुन्न सकिनेछ । यसअघि पनि बुर्तिवाङमै दुई वटा सञ्चालनमा छन् । 

रेडियो बुर्तिवाङसँगै बागलुङमा रेडियोको संख्या ९ पुगेको छ । २०६१ सालमा पहिलोपटक धवलागिरि अञ्चलकै पहिलो रेडियोका रुपमा धवलागिरि एफ.एम. बागलुङमा स्थापना भएको थियो । त्यसयता जिल्ला सदरमुकाम, गलकोट, बुर्तिवाङ, खरबाङ्ग र वरेङमा गरि नौ वटा रेडियो खुलिसकेका छन् । पछिल्लो पटक खुलेको रेडियो बुर्तिवाङ व्यवसायीक रेडियो हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!