निष्ठाको राजनीति अगाडि बढाउनुपर्छ: नारायणकाजी

Posted on: 15 Sep, 2016

भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

तत्कालीन एकीकृत नेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा उनले जनताको पक्षमा राजनीति गर्ने हो भने निष्ठाको राजनीतिको विकल्प बताएका हुन् । 

माओवादीले बोगटी जस्ता नेताबाट निष्ठाको राजनीति सिक्न सक्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले माओवादीले निष्ठाको राजनीतिलाई अवलम्बन गर्नसके मात्रै बोगटीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । 

स्मृतिसभामा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिष्ठानलाई व्यवस्थित बनाउन पहल भइरहेको बताए । उनले बोगटी कम्युनिस्ट आन्दोलनका एक इमान्दार सिपाही भएकाले उनको सम्मानमा पार्टी र सरकारको तर्फबाट महत्वपूर्ण सहयोग हुने विश्वास दिलाए । 

तत्कालीन एमाओवादीका महासचिव पोस्टबहादुर बोगटीको हृदयाघातका कारण निधन भएको थियो । माओवादीभित्र इमान्दार नेताको छवि बनाउनुभएका बोगटी सामान्य किसान परिवारबाट कम्युनिस्ट पार्टीको उच्च तहमा पुग्ने थोरै नेतामध्ये एक थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!