किसानलाई मौरीपालन तालिम

Posted on: 22 Mar, 2017

चैत ९, तेह्रथुम । व्यवसायिक रुपमा मौरीपालन व्यवसाय गरिरहेका जिल्लाका किसानलाई कृषि कार्यालयले तालिम दिएको छ । 

मौरीपालन सम्बन्धी आधारभूत ज्ञानदेखि आधुनिक कृषि प्रविधिबाट मौरीपालन व्यवसाय गर्न किसानलाई कार्यालयले तीन दिनसम्म तालिम दिएको हो । 

तालिममा सहभागी अगुवा मौरीपालक किसानलाई मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, व्यवसायिक मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण लगायत विषयमा मौरीपालक अगुवा किसान तथा बसन्तपुर मौरीपालन श्रोत केन्द्रका श्रोत व्यक्ति चन्द्र कार्की र लक्ष्मी विकिपिङ इलामका लक्ष्मी दाहालले प्रशिक्षण गरेका थिए ।

जिल्ला कृषि विकास कार्यालयले सन्चालन गरेको सो तालिममा जिल्लाका दुई नगरसहित चार वटै गाउँपालिका क्षेत्रभित्रका २० जना किसानहरु सहभागी थिए । किसानलाई मौरीपालनबारे ज्ञान दिई मौरीपालनको व्यवसायिकतामा वृद्धि तथा अर्थोपार्जनमा सहयोग पु¥याउन तालिम आयोजना गरिएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!