लालीगुराँसको बजेट नौ करोड, पर्यटन र पुर्वाधार विकास प्राथमिकतामा

Posted on: 13 Jan, 2017

प्रकाश धौलाकोटी/तेह्रथुम, २९ पुस । नगर क्षेत्रको पर्यटन विकास, कृषि, खानेपानी, सडक लगायत पुर्वाधार निर्माणलाई जोड दिँदै लालीगुराँस नगरपालिकाले झण्डै साढे ९ करोडको नगर विकास योजना सार्वजनिक गरेको छ । 

नगरपालिकाले विहीबार आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत मणिराम खतिवडाले चालु आर्थिक वर्षको लागि प्रस्तावित ९ करोड ४० लाख ७८ हजार २ सय रुपैयाँको नगर विकास योजना सार्वजनिक गरे । यस्तै आगामी आर्थिक वर्ष २०७४÷०७५ कालागि ८ करोड ६२ लाख ६८ हजार २ सय रुपैयाँको बजेट प्रस्ताव गरिएको कार्यकारी अधिकृत खतिवडाले जनाए । 

बजेटमा नगर क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन पुर्वाधार विकाससँगै फ्रि वाईफाई कार्यक्रम, सडक, खानेपानी, कृषि पर्यटन प्रवर्धन, होम स्टे प्रवर्धन लगायत कार्यक्रम राखिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले नगरपालिकाको सीमित श्रोत साधन र आम्दानीले नभ्याएपनि नगरबासीको चाहनालाई कार्यालयले सम्बोधन गर्नुपर्ने बताइन् । 

कार्यक्रममा कांग्रेस नगरसभापति अर्जुन माबोहाङ, एमाले अध्यक्ष लक्ष्मण तिवारी, नेकपा माओवादी केन्द्रका इश्वर श्रेष्ठ, राप्रपाका मनकुमार लिम्बु र संघिय लिम्वुवान मन्च नेपालका गंगालाल सेने लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रम कार्यकारी अधिकृत मणिराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!