छथर गाँउपालिकाको बजेट साढे ३८ करोड,

Posted on: 20 Sep, 2017


असोज ४, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिकाको पहिलो गाउँ सभाले साढे ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

संविधान दिवसको अवसरमा सोमबार सम्पन्न गाउँ सभामा अध्यक्ष सन्तवीर लिम्बुले आर्थिक वर्ष २०७४÷०७५ कालागि ३८ करोड ५७ लाख ४ हजार ३ सय ३३ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । 

बजेटमा सडक तथा खानेपानीलाई उच्च प्राथमिकतामा राखिएको छ । भाद्र २८ गतेदेखि सुरु भएको गाउँ सभाले वार्षिक नीति तथा कार्यक्रमका साथै नेपाल सरकारबाट प्राप्त अनुदान, आन्तरिक आय र गैरसरकारी संस्थाहरुको कार्यक्रम समेत संलग्न गरेर बजेट सार्वजनिक गरेको हो । 

नीति तथा कार्यक्रममा बजेट तथा श्रोत पहिचान, कृषि बिकास, पशुपक्षी बिकास, नागरिकहरुको आयआर्जन, सामाजिक बिकासमा शिक्षा तथा खेलकुद बिकास, बिज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, गैरसरकारी संस्था सम्बन्धी कार्यक्रम रहेको प्रवक्ता राजन नेपालीले बताउनुभयो  । 

‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माण गर्ने आधार’ भन्ने मुल नारासहित नीति तथा कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक गरिएको बजेटमा आन्तरिक आयतर्फ १५ लाख, निःशर्त अनुदान १२ करोड ३१ लाख ९३ हजार, सशर्त अनुदान ११ करोड ४४ लाख ८१ हजार र गैरसरकारी कार्यक्रमतर्फ १३ करोड ६० लाख ३७ हजार रुपैयाँ बजेट रहेको छ । 

चालु आर्थिक वर्षका लागि गाउँपालिकाले सुख्खाग्रस्तमा मालपोत कर नलगाउने भएको छ । गाउँपालिकाले ४० प्रतिशत जनसहभागिता सहितको कृषि, पर्यटन, पुर्वाधार विकास र धार्मिक सांस्कृतिक स्थलको पहिचान र प्रवर्धनका कार्यक्रमलाई जोड दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!