कांग्रेसले संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने

Posted on: 28 Dec, 2016

प्रकाश धौलाकोटी | पुस १३, तेह्रथुम । नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको  छ । जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले सबै नगर तथा गाउँहरुमा अगुवा कार्यकर्ता भेला गर्दै संगठन परिचालन तथा सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिको बैठकले माघ ४ गतेबाट १५ गतेसम्म जिल्लाव्यापी अभियान सन्चालन गर्ने निर्णय गरिएको कांग्रेस सचिव सन्तोष सुब्बाले जानकारी दिए । अभियान अन्तर्गत माघ ४ गते ह्वाकु र ईवाकालागि ईवामा, ५ गते छातेढुंगा र चुहानडाँडाकालागि चुहानडाँडामा, माघ ६ गते थोक्लुङ र सक्रान्तिबजारकालागि सक्रान्तिबजारमा, ७ गते सम्दु र ईसिवु गाविसकालागि ईसिवुमा, माघ ८ गते सिम्ले र जलजले गाविसकालागि औंशीडाँडामा अगुवा कार्यकर्ता भेला हुनेछ । 

यस्तै माघ ९ गते ओयाक्जुङ र पौठाक गाविसकालागि मेहेलेडाँडामा, माघ ११ गते म्याङलुङ्गमा, माघ १२ गते जिरखिम्तीबजारमा, माघ १३ गते मोराहाङ र श्रीजुङ गाविसकालागि मोराहाङमा, माघ १४ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरमा र माघ १५ गते छथर क्षेत्रका सबै गाविसकालागि शुक्रबारे बजारमा १–१ दिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको सचिव सुब्बाले बताए । 

सो अभियानमा केन्द्रिय सदस्य श्याम घिमिरे, केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, पुर्वसभासद तुलसी सुब्बा, सभासद गणेश विमलीसहित जिल्ला पार्टी नेतृत्वले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ । बैठकले सक्रान्तिबजारका अग्नीपीडितलाई भुकम्पपीडित सो सरह सेवा सुविधा उपलब्ध गराइनुपर्ने तथा राहत र पुनःस्थापनाकालागि सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय भएको कांग्रेस सदस्य विपीन सुब्बाले जनाए । 

कांग्रेसले राहत संकलन गर्दै

सक्रान्तिबजारका अग्नीपीडितकालागि नेपाली कांग्रेस तेह्रथुम काठमाडौँ सम्पर्क मन्चले ५ लाख रुपैयाँ राहत संकलन गरिसकेको जनाएको छ । मन्चका अध्यक्ष गणेश घिमिरेका अनुसार काठमाडौँमा रहेका तेह्रथुमका नेपाली कांग्रेस सम्बद्ध नेता कार्यकर्ता, उद्योगी व्यापारी र सर्वसाधारणबाट गरी मंगलबार सम्म ५ लाख रुपैयाँ संकलन भइसकेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमले पनि राहत संकलनकालागि पहल गरिरहेको सचिव सन्तोष सुब्बाले जानकारी दिए । जिल्ला कार्यसमितिका पदाधिकारीहरुबाट ५० हजार बढी रुपैयाँ जम्मा हुने भएको उनले बताए । आपत्का बेला सबै गाउँ तथा नगरसमिति र भातृ संस्थाहरुबाट समेत राहत संकलन गर्न निर्देशन दिइएको उनले बताए । पौष १ गते सक्रान्तिबजारमा भएको आगलागीबाट २४ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो । अन्य ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् भने १४ करोड ८ लाख रुपैयाँको क्षति भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!