गाउँ पस्दै कांग्रेस

Posted on: 11 Feb, 2017

प्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । नेपाली कांग्रेसले संगठन सुदृढिकरण अभियान अन्तर्गत तेह्रथुमका सबै नगरपालिका तथा गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । 

पार्टीको राजनीतिक बैचारिक अवस्था, नीति सिद्धान्त, कार्य दिशा, नयाँ संविधान र बर्तमान राजनीतिक अवस्था तथा आगामी स्थानीय निकाय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले जिल्लाका गाउँ–गाउँमा पुगेर कार्यकर्ता प्रशिक्षण गर्न लागेको हो । 

यसअघि माघको तेस्रो साता नै गाउँ गएर कार्यकर्ता प्रशिक्षण गर्ने भनिएपनि आन्तरिक द्धन्द्धका कारण कार्यक्रम स्थगित भएको थियो । तर पछिल्लो साता भएको कांग्रेस केन्द्रिय सदस्य श्याम घिमिरेको उपस्थितिको जिल्लाका नेताहरुको बैठकले पार्टीलाई एक ढिक्का भएर अघि बढाउने सहमति जुटाएसँगै कांग्रेस नेताहरु गाउँ जान लागेका हुन् । सो अभियानअन्तर्गत फागुन २ गते छथर गाउँपालिकाको शुक्रबारे बजारमा प्रशिक्षण हुने जिल्ला सभापति गोविन्द ढुंगानाले बताए । 

यस्तै फागुन ३ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरबजारमा, फागुन ४ गते म्याङलुङ्ग नगरपालिकाको म्याङलुङबजारमा, फागुन ५ गते मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा, फागुन ६ गते फेदाप गाउँपालिकाको औंशीडाँडामा र फागुन ७ गते आठराई गाउँपालिकाको सक्रान्तिबजारमा संगठन सुदृढिकरण कार्यक्रम हुने सभापति ढुंगानाले बताए । कार्यक्रममा केन्द्रिय सदस्य श्याम घिमिरे, केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ, सभासद गणेशप्रसाद विमली, पुर्वसभासद तथा महासमिति सदस्य तुलसी सुब्बासहित जिल्लाका नेताहरु सहभागी हुने र प्रशिक्षण गर्ने कांग्रेसले जनाएको छ । 

सम्दुमा ७२ नवप्रवेशीलाई स्वागत

सम्दु गाउँ विकास समितिमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम विहीबार भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको राजनीतिक बैचारिक गतिविधि, समसामयिक राजनीतिक अवस्था, स्थानीय निकाय निर्वाचन लगायत विषयमा छलफल भएको थियो । 

सो अवसरमा सम्दुका ७० बढी युवाहरु विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेका गणेश राई र माओवादी केन्द्रका देवेन्द्र चोङवाङको नेतृत्वमा ७२ जना युवाहरु कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता तेजबहादुर कार्कीले बताए । 

कार्यक्रममा पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्दै कांग्रेस नेताहरुले सम्दु जिल्लाकै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको स्वीकार गरे । नेताहरुले सम्दुको विकास निर्माण, शैक्षिक, आर्थिक तथा सामाजिक विकासकालागि चौतर्फी रुपमा पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ, पुर्वसभासद तुलसी सुब्बा, जिल्ला सभापति गोविन्द ढुंगाना लगायतले बोलेका थिए । 

कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्यसमिति सम्दुका उपसभापति भेषराज चोङवाङको अध्यक्षतामा भएको थियो । नवप्रवेशीहरुले भने कांग्रेस मुलुककै पुरानो तथा लोकतन्त्र र जनजीविकाको रक्षा गर्न सक्ने पार्टी भएकाले आफुहरु आवद्ध भएको बताए ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!