माओवादीले सम्झिए जनयुद्ध

Posted on: 13 Feb, 2017

प्रकाश धौलाकोटी/फागुन २, तेह्रथुम । माओवादीका विभिन्न घटकले आइतबार जनयुद्ध दिवस मनाएका छन् । 

सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी) केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बेग्लाबेग्लै कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका हुन् । 

दिवसको अवसरमा तेह्रथुममा नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा दिप प्रज्वलन गरेको छ । कार्यक्रममा केन्द्रका पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाईले पार्टीले दश वर्षसम्म गरेको जनयुद्धले मुलुकमा थुप्रै परिवर्तनहरु ल्याएपनि संस्थागत भइनसकेको भन्दै त्यसको कार्यभार अझै बाँकी रहेको बताए । 

उनले जनयुद्धबाट प्राप्त प्रतिफललाई संस्थागत गर्न विभिन्न शक्तिहरुले रोकटोक गरिरहेको भन्दै त्यस्ता चुनौतीहरुलाई चिर्दै पार्टीले ती उपलब्धिहरुलाई संस्थागत गरिछाड्ने धारणा राखे । जिल्लास्थित माओवादी नेता तथा कार्यकर्ताले ‘२२ औं जनयुद्ध दिवस’ लेखिएको आकारमा दिप प्रज्वलन गरी जनयुद्धलाई सम्झिएका हुन् । 

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा र सिन्धुलीको दुई वटा प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो । यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो । त्यसपछि पटकपटक सरकारमा पुगेको र तीनपटक सरकारको नेतृत्व गरेको भएपनि माओवादीले आफैले उठाएका मुद्दा संम्बोधन गर्न नसकेको चर्को आलोचना खेपिरहेको छ । 

२०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटकपटक फुटेको छ भने झण्डै एक दर्जन दलसँग एकीकरण पनि गरेको छ । सँगै बिद्रोह गरेका नेताहरुमध्ये धेरैजसो कुनै न कुनै नाममा माओवादी पार्टी नै सञ्चालन गरिरहेका छन् भने माओवादी विद्रोहका एक मुख्य नेता डा. बाबुराम भट्टराईले भने नयाँ शक्ति नामको नयाँ पार्टी खोलेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!