आठराईमा तामझामका साथ उम्मेदवारी दर्ता

Posted on: 18 Jun, 2017

अमृत बास्तोला | असार ४, तेह्रथुम । दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि तेह्रथुममा राजनीतिकदलहरु तामझामका साथ उम्मेदवारी दार्ता गरेका छन् । दुई नगरपालिका र चार गाउँपालिका सहति ६ वटा स्थानीय तह रहेको तेह्रथुममा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले लोपउन्मुख नौमति बाजा, जातिय संस्कृति झल्कने ढोलचान, संगेनी नाच र र्याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्धारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस–माओवादी गठबन्धनले आठराई गाउँपालिकाको अध्यक्ष पदमा नारायण ईङनाम र उपाध्यक्षमा रमिला खनालको उम्मेदवारी दार्ता गरेको छ । ईङनाम नेपाली काँग्रेका हुन भने खनाल माओवादी केन्द्रकी उम्मेदवार हुन । एमालेले गाउँपालिकाको अध्यक्ष पदमा मानबहादुर कन्दङवा र उपाध्यक्षमा रुपादेवि कन्दङवाको उम्मेदवारी दार्ता गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आठराई गाउँपालिकाको प्रमुखमा धनराज कन्दङवा र उपप्रमुखमा वर्षा इङनामको उम्मेदवारी दर्ता गरेको छ । नयाँ शक्ति पार्टीले अध्यक्षमा टिकाराम गुरुङ र उपाध्यक्षमा हिमा दंगालको उम्मेदवारी दर्ता गराएको छ । संघीय लोकतान्त्रीक राष्ट्रिय मंच, संघीय लिम्बुवान मंच नेपालले प्रमुखमा मृगेन इङनाम र उपप्रमुखमा चुवाङमा कन्दङवाको उम्मेदवारी दर्ता गरेको छ ।

आठराई गाउँपालिकाको अध्यक्ष पदमा सुवास फोम्बोले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार फोम्बोले गाउँपालिकाको अध्यक्षको लागि प्राप्त तलब एक रुपैयाँ नलिई जनताको आवश्यकतामा खर्चिने बताएका छन् । आठराई गाउँपालिका २, खाम्लुङ निवासी फोम्बो माओवादी निकट हुन ।

आठराई गाउँपालिकामा १२ हजार ५ सय ६७ जना मतदाता रहेको निर्वाचन अधिकृत पदमराज पाण्डेले जानकारी दिए । उनका अनुसार यहाँ १४ मतदान स्थल र १६ मतदान केन्द्र रहेका छन् । 

आचारसहिता दलहरुले पालना गरेन

नेकपा एमाले आठराईमा उम्मेदवारी दर्ताका लागि निकालेको र्यालीमा बालबालिकाको प्रयोग गरेको छ । नाराजुलुस र बाजागाजा सहितको र्यालीमा नौमति बाजाकोलागि दमाह र टेम्पो बजाउन बालकलाई लगाएको हो । निर्वाचन आचारसंहिता अनुसार कुनै पनि दलको जुलुस र र्यालीमा बालबालिकाको प्रयोग गर्न नपाईने आठराई स्थित निर्वाचन अधिकृत पादमराज पाण्डेले जानकारी दिए । निर्वाचन चिन्ह अंकित टिर्सट, टोपी, झोला लगायतका प्रचार सामग्री सहित तेह्रथुममा दलहरुले उम्मेदवारी दार्ता गराएका छन् । ठूला राजनीतिक दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रले आचारसहिता विपरीत निर्वाचन चिन्ह अंकित प्रचार सामग्री सहितको र्याली प्रदर्शन गरी निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । आठराई गाउँपालिकामा निर्वाचन चिन्ह अंकित टिर्सट, टोपी, झोला लगायतका प्रचार सामग्री प्रयोग नगर्ने गत जेठ ३० दलहरुले निर्वाचन कार्यालयमा प्रतिवद्धता जनाएका थिए । चुनावी गार्मागर्मी बढेसंगै दलहरुले निर्वाचन आचारसहिता बिर्सिदै गएका छन् । निर्वाचन कार्यालयले निर्वाचन समयावधी भर कुनै पनि जिन्सी प्रचार सामग्री प्रदर्शन तथा वितरण नगर्न दलहरुलाई निर्देशन दिइएको थियो, निर्वाचन अधिकृत पाण्डेले भने यस बिषयमा पुर्न दलहरु सँग छलफल गरिने छ ।

बैशाखी टेकेर उम्मेदवारी दर्ता

आठराई गाउँपालिका वडा नं. २ खाम्लालुङका गजेन्द्रबहादुर चोङवाङले बैशाखी टेकेर आफ्नो उम्मेदवारी निवार्चन कार्यालयमा दर्ता गराएका छन् । गत महिनामा मोटरसाइकल दुर्घटना परी चोङवाङको दायाँ खुट्टा भाँचिएको थियो । चोङवाङले आठराई गाउँपालिका वडा नं. २ खाम्लालुङका लागि नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवारी दार्ता गराएका हुन् । खाम्लालुङमा रिङ रोड, शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि वडाध्यक्षको उम्मेदवारी दिएको चोवाङले बताए । 

नेपाली काँग्रसले खाम्लालुङमा दिलकुमार फोम्बोलाई वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको छ । फोम्बो व्यापारबाट राजनीतिमा आएका स्थानीय युवा नेतृत्व हुन् । सम्बृद्ध आठराई निर्माणका लागि खाम्लालुङ प्राकितिक स्रोत र साधानले सम्मपन्न भएकाले पर्यटकिय क्षेत्रको प्रर्वद्धन, खानेपानीको व्यावस्था, सडक निर्माण, शिक्षा, स्वास्थ्य कृषि र बेरोजगारी समस्या हल गर्न वडाध्यक्षमा उम्मेदवारी दिएको फोम्बोको भनाई छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!