तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ को उम्मदवारी

Posted on: 19 Jun, 2017

असार ५, तेह्रथुम । दुई नगरपालिका, चार गाउँपालिका र ४३ वटा वडा रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको थियो । 

विहान ८ बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्ने र साँझ ५ बजे नै उम्मेदवारी दिनेको नामावली प्रकाशन गर्ने भनिएको भएपनि राति १२ बजे मात्रै उम्मेदवारहरुको मनोनयन सकिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याङलुङ्ग नगरपालिकामा ५२ पदका लागि १ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । 

लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १ सय ४९ जना, आठराई गाउँपालिकामा ३७ पदका लागि १ सय ३१ जना, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८ जना, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १ सय जना र छथर गाउँपालिकामा ३२ पदका लागि १ सय ३२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए । 

एक जना निर्वाचित हुने प्रमुख पदमा म्याङलुङ्ग नगरपालिकामा ९ जना, लालीगुराँस नगरपालिकामा ७ जना, मेन्छ्यायेम गाउँपालिकामा ४ जना, फेदाप गाउँपालिकामा ५ जना, आठराई गाउँपालिकामा ६ जना र छथर गाउँपालिकामा ११ जनाको उम्मेदवारी परेको छ । 

यस्तै एक जना नै निर्वाचित हुने उपप्रमुख पदमा म्याङलुङ्गमा ६ जना, मेन्छ्यायेम, फेदाप र लालीगुराँसमा ४–४ जना, आठराईमा ५ जना र छथरमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

४३ जना निर्वाचित हुने वडाध्यक्ष पदका लागि १ सय ६९ जना, महिला सदस्य पदका लागि १ सय ३४ जना, दलित महिला सदस्य पदका लागि १ सय १७ जना र ८६ जना निर्वाचित हुने खुला सदस्य पदका लागि २ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले जनाएको छ । 

लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनको मनोनयन दलहरुले हर्षौल्लासका साथ बाजागाजासहितको ¥यालीले बजार परिक्रमा गरी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गराएका थिए । जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा दलहरुबीच शक्ति प्रदर्शनको होडबाजी नै चलेको देखियो । 

विशेषगरी नेपाली कांग्रेसले विशाल जनप्रदर्शन गरेको छ । सदरमुकाम म्याङलुङ्ग, लालीगुराँस, छथर, आठराई, फेदाप लगायत क्षेत्रमा कांग्रेसले जनप्रदर्शन गरेको हो । एमालेले पनि कार्यकर्ताहरुको ठुलै भीड लिएर मनोनयन दर्ता गराएको छ । 

निर्वाचन आयोगका अनुसार दाबी विरोध, उम्मेदवारी फिर्ता र चेकजाँच समेत गरेर असार ६ गते ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!