तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी सरगर्मी उत्कर्षमा

Posted on: 23 Jun, 2017

प्रकाश धौलाकोटी/असार ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । 

आठराईमा केन्द्रिय नेता, कार्यकर्ता साथै लिएर उम्मेदवारहरु घरदैलो, प्रचार प्रसार र चुनावी सभामा व्यस्त बनेका छन् । आठराई गाउँपालिकाको विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्दै जितको दाबी गरिरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संयुक्त गठबन्धनले सबै वडाहरुमा चुनावी सभा समेत सम्पन्न गरेको छ । 

शुक्रबारे आठराई गाउँपालिका–३ ह्वाकुमा भएको चुनावी सभामा बोल्दै कांग्रेस केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले मात्रै नेतृत्व गर्न सक्ने बताउनुभएको छ । 

नेतृ गुरुङले विकासको स्पष्ट खाका र एजेण्डा लिएर कांग्रेस घर घर पुगिरहेको भन्दै आठराई गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । सभालाई काग्रेस नेता तथा सांसद गणेश विमली, माओवादी केन्द्रका केन्द्रिय सदस्यद्धय रघु गौतम र शुशिला कन्दङवा, अध्यक्ष पदका उम्मेदवार नारायणकुमार ईङनाम र उपाध्यक्ष पदका उम्मेदवार रमिला खनाल लगायतले सम्बोधन गरेका थिए । 

आठराईमा कांग्रेस–माओवादी गठबन्धनले सबै वडामा शीघ्र विद्युतीकरण, भक्तराज कन्दङवा स्मृति विमानस्थल निर्माणलाई प्राथमिकता, बजार विकास, सबै वडामा मोटरबाटो निर्माण, खानेपानी, सिंचाई, युवाहरुलाई रोजगारी,  र वृद्धवृद्धालाई सम्मान लगायतका प्रतिवद्धताहरु मतदातासँग गरिरहेको छ । यसैबीच गठबन्धनले शनिबार सक्रान्तिबजारमा बृहत आमसभा गर्ने कार्यक्रम रहेको समेत जनाएको छ ।

यता नेकपा एमालेले पनि आठराईका विभिन्न वडाहरुमा घरदैलो, चुनावी प्रचार प्रसार र चुनावी सभा गरिरहेको छ । सबै वडामा घरदैलो गर्दै मतदातालाई आठराईको विकासको निम्ती एमालेलाई विजयी गराउन भनेको अध्यक्ष पदका उम्मेदवार विष्णुविक्रम कन्दङवाले बताए । आठराई गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनसँग एक्लै प्रतिष्पर्धामा उत्रिएको एमालेले उपाध्यक्ष पदमा रुपादेवी कन्दङवालाई उम्मेदवार बनाएको छ । 

एमालेले पनि आइतबार सक्रान्तिबजारमा वृहत जनसभा गर्ने भनेको छ । आठराई गाउँपालिकामा नयाँ शक्ति नेपालले टिकाराम गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले मृगेन ईङनाम र देशभक्त गणतान्त्रिक मोर्चाले सुवास फोम्बोलाई अध्यक्ष पदमा उम्मेदवार बनाएका छन् । १६ वटा मतदान केन्द्र रहेको आठराईमा १२ हजार ५ सय ६७ मतदाता रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!