तेह्रथुममा स्थानीय तहले काम थाले

Posted on: 21 Mar, 2017

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ वटा वडा कार्यालयहरु सञ्चालनमा आएका छन् । 

चैत ३ गते नै जिल्लाका चार वटै गाउँपालिकाले कार्यालय स्थापना गरेका थिए । यस्तै साविकका गाविस कार्यालयहरुलाई वडा कार्यालयको रुपमा स्थापित गरिएको छ । जिल्लाभर अब ४३ वटा वडा कार्यालयहरुले समेत सेवा थालेका जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । 

कर्मचारी व्यवस्थापन, लेटर प्याड र छाप जस्ता सामग्रीको व्यवस्थापनपछि सबै तहको काम नियमित रुपमा सन्चालन भएको हो । अधिकार सम्पन्न कार्यालय आफ्नै क्षेत्रमा स्थापना भएपछि स्थानीयबासी समेत हर्षित बनेका छन् । जिल्लामा म्याङलुङ र लालीगुराँस नगरपालिका यसअघि नै गठन भएका थिए । 

हालै सरकारले छथर क्षेत्रका छ गाविसलाई समेटेर छथर गाउँपालिका, आठराई क्षेत्रका सात गाविसलाई समेटेर आठराई गाउँपलिका, मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई समेटेर मेन्छ्यायेम गाउँपालिका तथा फेदाप क्षेत्रका अन्य पाँच गाविसलाई समेटेर फेदाप गाउँपालिका बनाएको हो । 

नयाँ संरचनामा म्याङलुङ्ग र लालीगुराँस नगरपालिकाको केन्द्र साविककै स्थान अर्थात् म्याङलुङ्ग बजार र बसन्तपुर बजारमै निर्धारण गरिएको छ । यस्तै छथर गाउँपालिकाको शुक्रबारे बजार, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजार, फेदाप गाउँपालिकाको पोक्लाबाङबजार र आठराई गाउँपालिकाको सक्रान्तिबजारमा केन्द्र निर्धारण भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!