निःशुल्क स्वास्थ्य शिविरमा छ सय दुई लाभान्वित

Posted on: 25 Mar, 2017

प्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । बाँस्कोटा सेवा समाज काठमाडौँले आठराईको चुहानडाँडामा शनिबार आयोजना गरको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २ जनाले सेवा लिएका छन् । 

आठराई गाउँपालिका–६, चुहानडाँडामा भएको शिविरमा ३ सय ६० जना महिला र ४१ जना बालबालिकासहित जम्मा ६ सय २ जनाले लाभ लिएको स्थानीय कृष्ण बाँस्कोटाले जानकारी दिनुभयो । शिविरमा आएका विरामीमध्ये सबैभन्दा धेरै स्त्री तथा बाल रोग, आँखा, कान र पेट सम्बन्धी रोगबाट संक्रमितहरु भेटिएका संलग्न चिकित्सकहरुले बताएका छन् । 

शिविरमा चुहानडाँडाकी गोमादेवी बाँस्कोटा र इवाका राजेन्द्र बुढाथोकीको सामान्य शल्यक्रिया समेत भएको छ । 

शिविरमा बीएमसी हस्पीटल झापाका डा. बाँसुदेव बाँस्कोटा, दृष्टि आँखा अस्पतालका डा. विकास थापा र मनमोहन हस्पिटलकी डा. झरना श्रेष्ठसहितको १५ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो । शिविर बाँस्कोटा समन्वय समिति आठराईको व्यवस्थापनमा भएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!