तेह्रथुम जिल्ला अदालतमा ७७ प्रतिशत मुद्दा फछ्र्यौट

Posted on: 09 Aug, 2017

साउन २५, तेह्रथुम । जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३/७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो । 

अदालतले गत वर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । दर्ता भएका २१० थान मुद्दामध्ये उक्त अवधिमा १६६ थान मुद्दा फछ्र्यौट गरेको जिल्ला अदलात तेह्रथुमका श्रेस्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आवका लागि ४७ थान मुद्दा सरिआएका छन् । अदालतले चालु आवमा २६२ थान मुद्दा दर्ता हुने लक्ष्य राखेको छ । अदालतकाअनुसार हालसम्म फैसला भएकामध्ये ३९६ वर्ष चार महिना २७ दिन कैद फैसला कार्यान्वयन हुन बाँकी रहेको छ । 

यस्तै रु ३७ लाख ६५ हजार १४८ जरिवाना समेत असुल गर्न बाँकी रहेको श्रेस्तेदार दाहालले बताउनुभयो । यो वर्ष फैसला भएको १५७ वर्ष सात महिना एक दिन कैदमध्ये १०७ वर्ष एक महिना १६ दिन कार्यान्वयन भइरहेको छ । भने ५० वर्ष बढी कैद फैसला कार्यान्वयन हुन बाँकी छ । 

यस्तै रु पाँच लाख ८१ हजार जरिवाना तोकिएकोमा तीन लाख ८३ हजार ९७३ कार्यान्वयन हुनसकेको छैन । यो वर्ष ८४ वटा फौजदारी सम्बन्धी मुद्दा फैसला भएका छन् । 

अदातलका अनुसार दर्ता भएकामध्ये सबैभन्दा धेरै महिला हिंसा र सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!