तीनजुरे तेह्रथुमकै नमुना सामुदायिक सिकाई केन्द्र

Posted on: 12 Oct, 2017

प्रकाश धौलाकोटी | असोज २६, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाई केन्द्रलाई जिल्लाकै नमुना सिकाई केन्द्र बनाउने अभियान सुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३/७४ बाट सिकाई केन्द्रलाई जिल्लाकै नमुना बनाउने अभियान थालेको हो । 

सो सिकाई केन्द्रलाई अन्य केन्द्रहरुको तुलनामा प्राविधिक उपकरण, पुस्तकालय, फर्निचर व्यवस्थापन लगायत सुविधा थप गरी नमुना सिकाई केन्द्र बनाउन थालिएकोे जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताए । कार्यालयले सो सिकाई केन्द्रका लागि पहिलो वर्ष ८ लाख रुपैयाँ उपलब्ध गराएको छ । 

सो बजेटबाट अहिले दुई थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, स्क्यानर, प्रोजेक्टर, फर्निचर, कुर्सी, दराज, कार्यालय व्यवस्थापन तथा पुस्तकालय व्यवस्थापन गरिएको तीनजुरे सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विपीन निङलेकुले बताए । अभियान अन्तर्गत नै सिकाई केन्द्रले जिल्लामा रहेका धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरुको पहिचानलाई प्रकाशनमा ल्याएर प्रचार प्रसारमा समेत भूमिका खेल्नेछ । 

अहिले केन्द्रले सन्चालन गरेको पुस्तकालयमा राजनीति, विज्ञान, भुगोल, साहित्य लगायत विविध क्षेत्रका ज्ञानवद्र्धक पाँच सय पुस्तकहरु रहेको अध्यक्ष निङलेकुले बताए । नमुना सिकाई केन्द्र बनेपछि यहाँका बासिन्दाले एकै ठाउँबाट इमेल, इन्टरनेट र पुस्तकालयको सुविधा पाउने भएका छन् । यसले ढल्कँदो पठन संस्कारलाई जोगाउन सहज हुने स्थानीयबासीको बुझाई छ ।

जिल्लामा हाल २१ वटा सामुदायिक सिकाई केन्द्रहरु सन्चालनमा रहेका छन् । ती सिकाई केन्द्रहरुमार्फत अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत निरन्तर शिक्षा अभियान सन्चालन भइरहेको छ । ती सिकाई केन्द्रहरुले सन्चालन अनुदान स्वरुप वार्षिक १ लाख रुपैयाँ पाउँछन् । भने प्रस्तावका आधारमा १ लाख ५० रुपैयाँ थप अनुदान समेत दिइने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयले जिल्लाका सिकाई केन्द्रहरु मध्ये उत्कृष्ट ३ वटा पुरस्कृत समेत गरेको छ । सक्रान्तिबजारको डाँडागाउँ सामुदायिक सिकाई केन्द्र, सम्दुको सुनगाभा सामुदायिक सिकाई केन्द्र र फाक्चामाराको तमोर सामुदायिक सिकाई केन्द्रले जिल्लाकै उत्कृष्ट सामुदायिक सिकाई केन्द्रको रुपमा दुई–दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् । फाक्चामाराको तमोर सामुदायिक सिकाई केन्द्र पुर्वान्चलकै तेस्रो समेत भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!