एकै ठाउँमा सुनिए छथरे युवा श्रष्टा

Posted on: 27 Oct, 2017

प्रकाश धौलाकोटी/कात्तिक १०, तेह्रथुम । बर्षौपछि ऐतिहासिक छथर क्षेत्रका साहित्यिक श्रष्टाहरु विहीबार एकै ठाउँमा सुनिएका छन् । 

नवगठित छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा भएको कार्यक्रममा छथर क्षेत्रमा जन्मिएर साहित्य सिर्जनामा क्रियाशील युवा श्रष्टाहरुले लामो समयपछि एकै ठाउँमा सृजना बाचन गरे । तर कार्यक्रममा यहाँका पुराना र सबै श्रष्टाहरु भने सहभागी भएनन् । 


साहित्य क्षेत्रमा पछिल्लो समय बढ्दै गएको निराशाकै कारण छथरे श्रष्टाहरु एकजुट हुन नसकेको सहभागी युवा श्रष्टाहरुले निष्कर्ष निकाले । कार्यक्रममा एक दर्जन युवा श्रष्टाहरुले साहित्य सिर्जनाहरु बाचन गरेका थिए । 

युवा श्रष्टाहरु कोशी किनारे, टिका थोक्लेन, मनकुमार पारघरी, सुर्य तेह्रथुमे, प्रकाश पाक्सावा, अनिल पाक्साँवा, नगेन साँवा, डिबी साँवा, मधुसुदन बस्नेत, जमित साँवा लगायतले सिर्जना बाचन गरेका थिए । युवा श्रष्टाहरुले छथरको साहित्यिक गतिविधिलाई अगाडि बढाउन भन्दै संगठित हुने प्रयत्न समेत गरेका छन् ।

 प्रारम्भमा तदर्थ समितिको रुपमा टिका थोक्लेनको संयोजकत्वमा ९ सदस्यीय समिति बनेको छ । समितिको सह–संयोजकमा निभा खुसी, कार्यक्रम संयोजक अनिल पाक्साँवा, प्रचार प्रसार संयोजक प्रकाश पाक्साँवा र सदस्यहरुमा मधुसुदन बस्नेत, मनकुमार पारघरी, जमित साँवा, डिकेन पाक्साँवा र सावित्रा घोर्साने रहेका छन् । कोशी किनारेको संयोजकत्वमा बनाइएको ३ सदस्यीय सल्लाहाकार समितिमासुर्य तेह्रथुमे र नगेन साँवा छन् । ऐतिहासिक १७ थुममध्ये छथर पनि एउटा थुम हो । 

तेह्रथुम र धनकुटाका एक दर्जन बढी तत्कालिन गाउँ विकास समितिहरु मिलेर बनेको यो भूगोलको ऐतिहासिक पहिचानलाई आधार मान्दै साहित्यकर्मीहरु एकजुट हुने प्रयास थालिएको प्रचार प्रसार संयोजक पाक्साँवाले बताए । यो क्षेत्रमा एक दशक अघि दर्जन बढी साहित्यिक हवाई पत्र–पत्रिकाहरु प्रकाशित हुने गरेका थिए । अहिले ती पत्रपत्रिकाहरु बन्द छन् । 

विज्ञान प्रविधिको विकास र बढ्दो सामाजिक सन्जाल मोहका कारण साहित्य सिर्जनाको रस नै हराउन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । ऐतिहासिक छथर क्षेत्रका तत्कालिन गाउँ विकास समितिहरु मिलाएर हाल तेह्रथुममा छथर गाउँपालिका र धनकुटामा छथर जोरपाटी गाउँपालिका गठन भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!