नौमती बाजा संरक्षणमा तेह्रथुमका गुरुङ समुदाय

Posted on: 13 Jan, 2019

पुस २९, तेह्रथुम | कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुनलागेको भन्दै यहाँका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् । 

बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हुनुपर्दा गाउँका दलित समुदायले बजाउन छाडेका बाजा सङ्कलन गरेर म्याङलुङ नगरपालिका–७ हरिसे बस्तीका गुरुङ समुदायले बाजा संरक्षणका लागि अभियान थालेका छन् । 

विशेष गरेर शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउँघरमा हुने विवाह, ब्रतबन्धजस्ता शुभकार्य सुनसान बन्न थालेका थिए । “लोपोन्मुख लोकबाजा संरक्षण गर्न संरक्षण अभियान थालेका हौँ”, स्थानीयवासी ललितबहादुर गुरुङले भन्नुभयो, “यो कार्यले समाजमा रहेको जातीय विभेदको अन्त्य गर्न पनि सहयोग पुर्याउने हाम्रो आशा छ ।” उहाँकै पहलमा गाउँभरका गुरुङ समुदायले यी बाजाको संरक्षण गर्न प्रयास थालेका हुन् । 

गाउँमा रहेका करीब ४० घरधुरीका गुरुङ परिवार अहिले घरका सारा काम थाँती राखेर दलितले बजाउने पञ्चे र नौमती बाजा सङ्कलन गरी बजाउन सिक्दैछन् । गुरुङ समुदायले विगत तीन वर्षदेखि गाउँघरमा हुने विवाह लगायत शुभकार्य र खुसीको समयमा पञ्चे र नौमती बाजा बजाउने गरेका छन् । “बाजा बजाउँदैमा कोही तल्लो जात हुँदैन”, स्थानीय युवा मन्दीप गुरुङले भन्नुभयो, “हाम्रो समाजको साझा पहिचान र संस्कृतिका रुपमा रहेका यी बाजा जसले बजाए पनि हुन्छ ।” 

गुरुङ समुदायलाई पनि शुरुमा दमाईँले बजाउँदै आएको बाजा बजाउन त्यति सजिलो चाहिँ भएन । गाउँका केही पढेलेखेका र लोक संस्कृतिका बाजा रुचाउने दुई÷चार जना मिलेर बाजा बजाउन शुरु गर्दा धेरैले दलितकै उपमा दिएको स्थानीय नवीन गुरुङले बताउनुभयो । 

यसरी सङ्गठित भएका गुरुङ समुदायले सहनाइ, झ्याम्टा, दमाहा, ढोलकी, मादल, नरसिंहा, नगरा, ट्याम्कोलगायत बाजा खरिद गरेर ल्याएका छन् । अहिले गाउँभरका अन्य ब्राह्मण परिवारका युवायुवती तथा बुढापाकालाई पनि यी बाजा बजाउने तालीमका साथमा प्रशिक्षणसमेत दिइँदैछ । गाउँगाउँमा छरिएर रहेका लोकबाजा, लोक संस्कृति, लोकनृत्यलगायत कलाको संरक्षण र जगेर्ना गर्न राज्यले सहयोग गर्नुपर्नेमा कहीँकतैबाट सहयोग नपाएकामा सो समुदायले गुनासो गरेका छन् । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!