शीघ्र स्खलन रोक्ने तरिकाहरु यस्ता छन् ! जानी राखौ

Posted on: 14 Feb, 2017

म ३६ वर्ष  लागे । मेरो विवाह भएको १२ वर्ष पूरा भयो । जब म यौनसम्पर्क गर्न थाल्छु, मेरो शीघ्र स्खलन हुन्छ । योनिमा लिंग प्रवेश गराएको १ मिनेटमै झर्छ । लगत्तै अर्को पटक सम्भोग गर्दा पनि समयमा विर्य झर्छ । यसले गर्दा म र मेरी श्रीमतीले यौनसन्तुष्टि प्राप्त गर्न सकेका छैनौं । हाम्रो यो समस्याको समाधान के होला ?

शीघ्र वीर्य स्खलन 

तपाईंलाई थाहै हुनुपर्छ, प्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा वीर्य स्खलन छिटो भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ ।

घर्षण नै गर्न नपाई योनिमा लिंग प्रवेश गराउनासाथ वा गराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।

कतिपयले सामान्य समय–सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो भएको अनुभूति हुनसक्छ ।

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको मानिन्छ ।

कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौनजोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता भए त्यसले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही औषधीको प्रयोगले यस्तो समस्या सिर्जना गरेको त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन ।

शीघ्र स्खलनले के–कस्तो असजिलो ल्याउँछ ? 

तपाईंले यो समस्या समाधानका लागि के–कसो गर्नुभएको छ, पत्रमा उल्लेख त छैन, तर पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा महिलाको सबैभन्दा यौन संवेदनशील अंग भगांकुरको घर्षण हुँदैन र महिलाले यौनसुख प्राप्त गर्न गाह्रो हुन्छ । अझ त्यसमा पनि शीघ्र स्खलन हुँदा लिंग प्रवेश नै गर्न पाएको हुँदैन वा भए पनि त्यसको समय निकै छोटो हुने भएकाले थप समस्या पर्छ । 

धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलन हुनुलाई पुरुषको यौन सक्षमताका रूपमा लिन्छन् । यसरी शीघ्र स्लखन हुँदा यौन कार्यसम्पादन राम्रोसँग गर्न नसकेको मान्छन् । महिलालाई यौन सुख दिन नसकेको भन्ठानेर दु:खी हुने मात्र होइन, उनीहरूमा आत्मसम्मानको समेत समस्या देखा पर्न सक्छ । महिलाले पनि शीघ्र स्खलनका कारण श्रीमान्ले मलाई यौनसन्तुष्टि दिन सक्दैनन् भन्ने मान्न सक्छन् । 

यस्तो स्थितिमा वीर्य स्खलनमा मात्र केन्द्रित रहेर थप यौनसम्पर्क राखिन्छ । कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ । यस्तो स्थितिमा लिंग योनिमा प्रवेश गराउनुभन्दा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याइ वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छन् । यसले गर्दा पुरुषमा मात्र होइन, महिलामा पनि मानसिक तनाव हुन्छ । यसले सम्बन्धको सुमधुरतालाई नै समस्यामा पार्न सक्छ ।

दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ । हामीलाई थाहै छ, महिलाको सबैभन्दा यौन संवेदनशील अंग भगांकुर बाहिरतिरै हुन्छ र त्यसको घर्षणका लागि योनिमा लिंग प्रवेशको आवश्यकता पर्दैन । औंला वा अन्य तरिकाले यसको घर्षण गर्दा महिलाले पर्याप्त यौन आनन्द प्राप्त गर्न सक्छन् । जे होस्, यहाँ पुरुषलाई अनावश्यक दोष दिनुभन्दा महिलालाई सहयोग गर्नु उचित हुन्छ ।

समाधानका लागि 

आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित देखापर्न थाल्यो भनेचाहिँ समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् ।

यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौनसम्पर्कका क्रममा स्खलन होलाजस्तो भए तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । 

आसन परिवर्तन गर्ने : लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा शीघ्र स्खलन कम गर्न मदत मिल्छ । 

 लिंग अँठयाउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा उत्तेजना कम भए पछि पुन:सुरु गर्ने ।

कन्डम प्रयोग गर्ने : त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो कन्डमले बढी फाइदा पुर्‍याउँछ । 

मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्दा पनि फाइदा मिल्छ ।

औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि उपलब्ध छन् । Benzocaine तथा Lidocaine जस्ता औषधी भएका यस्ता उत्पादन लिंगमा प्रयोग गर्दा शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ । 

 वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालिन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंग चलाउने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने तथा वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र यो प्रक्रियालाई दोहार्‍याउने । 

वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने । वीर्य स्खलन होला जस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकपाललाई अघि बढाउने । यो प्रक्रियामा पर्याप्त समय र धैर्यता आवश्यक भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ । -साप्तहिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!