चट्याङबाट जोगिन यस्ता उपायहरु अपनाउनुस्

Posted on: 13 May, 2017 | views: 2869


गृह मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा चट्याङबाट बर्सेनी एक सय जनाको मृत्यु हुने गरेको छ । तर बर्सेनी मानिसको ज्यान लिने चट्याङबारे पनि हामी बिरलै मात्र चर्चा सुन्छौं। चट्याङबारे केही जानकारी नहुँदा र अपनाउनुपर्ने सावधानीबारे अनभिज्ञ हुँदा विषेशगरी ग्रामीण भेगमा बसोबास गर्ने मानिस यसको प्रत्यक्ष शिकार हुने गरेका छन् । सानो होसियारीले पनि यसको ठुलो असरलाई कम गर्न सकिन्छ ।

चट्याङ के हो ?

चट्याङ भनेको आकाशबाट खराब मौसमका बेलामा जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट हो। मनसुनभन्दा पछि र पूर्व मनसुनमा चट्याङ पर्ने गर्दछ। एक हिसाबले दैनिक रूपमा नै चट्याङ पर्ने गर्दछ। हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकआपसमा ठोक्किँदा चर्को आवाजसहित अत्यधिक भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जाने प्रकृया नै चट्याङ हो।

यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ। साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन। कहिलेकाही यो ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ। यो जलवायु र मौसममा भर पर्ने गर्दछ। जमिन अत्यधिक तात्ने ठाउँमा चट्याङ पर्ने गर्दछ।

बिजुली चम्किने बेला वायुमण्डलको तापक्रम एक्कासी बढ्छ। ताप बढेर ३० हजार डिग्री सेल्सियस र त्यो भन्दा बढी पुग्न सक्छ। ताप बढेपछि आयतन बढ्छ, जसले विस्फोटनको आवाज निस्किन्छ। यही आवाजलाई मेघ गर्जन पनि भनिन्छ। त्यसैले मेघ गर्जन र चट्याङबीच अन्तरसम्बन्ध छ।

चट्याङ पर्ने कारणहरू

जहाँ जमिन तात्ने प्रकृया धेरै हुन्छ त्यहाँ चट्याङ धेरै पर्छ। त्यसैले अफ्रिकी देशमा चट्याङ धेरै पर्छ। नेपालको पुर्वी भागमा पनि चट्याङ धेरै पर्छ। यो विषेशत पुर्व मनसुनमा धेरै पर्छ। बादलको कणहरू एकआपसमा घर्षणको कारण पानी पर्न सक्दैन, घर्षण हुन्छ र चट्याङ पर्छ।

आकाशमा बादलको हलचल र एक आपसमा टकराव तथा घर्षण हुँदा एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ। त्यो करेण्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु ‘प्रोटन’ भनिन्छ। उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको ‘न्युटल’ अणु प्राप्त गर्नको लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ। यही कारण चट्याङ पर्छ। विशेषतः जमिन तात्नु र पानीको बाफ वरिपरि हुनु चट्याङ पर्न सहज हुने अवस्था हो।

सकारात्मक र नकारात्मक असर

चट्याङको सकारात्मक र नकारात्मक दुवै असर रहेका छन्। चट्याङको असर सात किलोमिटर टाढासम्म हुन्छ। बर्सेनी मानिसको मृत्यु हुने मात्र होइन मुत्युको तुलनामा तीन गुणा घाइते हुन्छन्। पाँच गुणा जनावर चट्याङका कारण मर्छन्। चट्याङका कारण गएको वर्ष तीन महिना कुलेखानी पावर हाउस बन्द भयो। वर्षेनी चट्याङले एफएमका टावरमा असर पुर्याएर बन्द भएका छन्। हाम्रो घरको इलेक्ट्रोनिक सामान ध्वस्त पारेको हुन्छ।

चट्याङको एउटा झिल्को करेन्ट बादलदेखि जमिनसम्म झर्ने समय भनेको एक सय ५० देखि दुई माइक्रो सेकेन्ड हुन्छ। हामी यसलाई ध्यान दिँदैनौं। यसले अर्बौंको सम्पत्ति नाश गरिरहेको पनि हुन्छ। वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा २० हजार एम्पिएरदेखि दुई लाखको एम्पियरको पर्छ। यसले मुटुमा असर पुग्छ र मानिसको मृत्यु हुन्छ। यसको असर पनि त्यही अनुसार हुन्छ। सकारात्मक असर भनेको प्रकृतिले चट्याङ परेकै कारण सूर्यबाट आउने हार्मफुल रेजहरू रोक्ने ओजन तह निर्माण गर्दछ। एक चोटीमा धेरै क्षति नहुनुका कारण यसबारे त्यति चासो नहुने गरेको छ।

पूर्वानुमान

चट्याङ वायुमण्डलमा देखापर्ने बिजुलीको धार हो। यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ। कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरून्तै मृत्यु हुन्छ। तर यसको प्रवाहलाई पनि केही समय अगाडि अनुमान गर्न सकिन्छ। धेरै गर्मी भएको दिन, कालो बादल देखिएको छ भने बेलुका तीन बजेको समयमा चट्याङ पर्छ भनेर अनुमान गर्न सक्छौं। अर्थात् यसको आँकलन आधा घन्टा अगाडि गर्न सकिन्छ, वैज्ञानिक प्रविधि पनि छ। तर नेपालमा भने त्यस्तो किसिमको प्रविधि भित्रिएको छैन।

सावधानीका उपाय

वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ। यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ। कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरून्तै मृत्यु हुन्छ। धेरै जसो ग्रामीण भेगका मानिस नै यसको शिकार हुन्छन्। किनभने उनीहरूको घर नै सुरक्षित छैन। जस्ताको छानोबाट त्यहाँबाट एउटा तार लगेर जमिनसम्म गाडिदिने हो भने सुरक्षित हुन्छ। यसबाट बच्ने सबैभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो। घरभित्र बस्दा पनि टेलिभिजन÷टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ।

घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्ने गर्नुपर्छ।

त्यसैगरी फोन, कम्प्युटर, रेडियो, टेलिभिजनजस्ता विद्युतीय सामग्री चलाउनु हुँदैन। विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने र बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै निस्कनु हुँदैन। सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने अनि खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमिनमा नबस्ने। चट्याङ पर्ने बेलामा रूखमुनि र बिजुलीको तारमुनि पनि बस्नु हुँदैन।

घरमा अर्थिङ गर्ने 

सहरका पक्की घर फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ। घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ। अर्थिङ गर्न जमिनको संरचना र उचाइ अनुसारको लागत लाग्ने गर्दछ। गाउँघरको सामान्य दुईतले घरमा भने १२ देखि १५ हजारसम्ममा अर्थिङ गर्न सकिन्छ। चट्याङबाट बच्नको लागि सबैभन्दा उत्तम उपाय भनेको घरमा अर्थिङ गर्नु नै हो। किनभने यसले ठुलो जोखिमबाट बचाउँछ। जनधनको सुरक्षा गर्छ । डा. श्रीराम शर्माले नेपाल खबर अनलाइनमा लेखेका छन्  

यस बिषयमा तपाइको प्रतिक्रिया...!