बढी रिस उठ्छ ? यसरी गर्नुहोस् व्यवस्थापन

Posted on: 03 Feb, 2018

मानिसमा उत्पन्न हुने रिस भावना हो । यो मात्र नभएर खुसी, सुखी, दुःखी हुनु, हाँस्नु सबै इमोसन हुन् । 


तर, अत्यधिक रिस भने भावना मात्र नभएर मानसिक समस्या पनि हो । जसलाई इन्टरमिटेन्ट एक्सप्लोसिप डिसअर्डर पनि भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले आफ्नो जीवनमा उत्पन्न हुने भावना अर्थात् इमोसनलाई कन्ट्रोल गर्न सक्दैन भने त्यो मानसिक समस्या हो । स्वस्थ मान्छेले मात्र आफूलाई कन्ट्रोलमा राख्न सक्छ ।

गोपाल ढकाल मनोविद्, मार्क नेपाल
किन उठ्छ रिस ?
तनाव बढी हुँदा । 

डर, चिन्ता र डिप्रेसनका कारण पनि मानिस बढी रिसाउने हुन्छ ।

बिरामी अवस्थामा पनि मानिस बढी रिसाउँछ । बायोलोजिकल, हेरिडिटी, वातावरणको कारण, न्युरोलोजिकल (हर्मोन)को गडबडीले मानिसमा रिस उत्पन्न हुन्छ ।

समस्या

रिसाउनु समस्या पनि हो । सबै मानिसमा भावना हुन्छ । तर, स–साना कुरामा रिसाउनु, खुसी हुनु, निराश हुनु आन्तरिक दुर्बलता हो ।

बढी रिसाउने समस्या भएका मानिस सामान्य कुरामा पनि बढी रिसाउने गर्छन् । यस्ता मानिस सामान्यतया महिनाको ३–४ पटक कुनै न कुनै झमेलामा पर्ने, दुर्घटनामा पर्ने, झगडा गर्ने गर्छन् ।

यस्तो समस्या हुने मानिसमा अन्य थुप्रै शारीरिक समस्या हुने गर्छ । जस्तो कि मुटुको समस्या, प्रेसरको समस्या, मानसिक समस्या आदि ।

यस्तो समस्या भएका मानिसको परिवार र समाजसँगको सम्बन्ध त्यति सुमधुर हुँदैन । यस्ता मानिसले रिसलाई नियन्त्रण गर्न नसक्दा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छन् । आवेगमा थुप्रै घटना घटित हुन्छन् ।

रिसको व्यवस्थापन

रिस उठ्ने विभिन्न कारण हुन्छन् । जसमा पारिवारिक कारण पनि एक हो । बच्चा हुर्किएको वातावरणले पनि बढी रिसाउने मानसिक समस्याको कारण बन्न सक्छ । तर, रिस व्यवस्थापनका लागि स्वयं व्यक्तिले तदारुकता देखाउनुपर्छ । 

स्वयंले आफूमा रिसको अनुभूति गरी यसको कारण सोच्न जरुरी हुन्छ । यस्तो समय पूर्ण चेतनामा हुने प्रयास गर्नुपर्छ । कतिले रिसको वेला होस नै गुमाउँछन् र विभिन्न दुर्घटनाका लागि उद्यत हुन्छन् ।

रिसको मुख्य औषधि भनेकै आफूलाई कन्ट्रोलमा राख्नु हो । जुन व्यक्ति वा घटनाबाट रिस उठेको हो, ऊबाटै टाढा रहनु बुद्धिमता हुन्छ । मनलाई सधैँ शान्त राख्ने प्रयास गर्नुपर्छ । यसो गर्दा पनि रिस कम नभएको अवस्थामा एंगर म्यानेजमेन्ट तालिम लिनुपर्ने हुन्छ ।

साइकोलोजिस्टहरूले अत्यधिक रिस कन्ट्रोलका लागि भिन्न थेरापी गराउँछन् । अवस्थाअनुसार औषधिको पनि प्रयोग गर्नुपर्ने हुन सक्छ । बढी रिस उठ्नु एक प्रकारको मानसिक समस्या हो त्यसैले यसको उपचार गरेपछि समस्याको समाधान गर्न सकिन्छ ।

उपचार

बढी रिस भएको मानिसका लागि औषधिका माध्यमबाट पनि उपचार गर्न सकिन्छ । रिसको समाधान औषधिको प्रयोग र थेरापीबाट गर्न सकिन्छ । मनोपरामर्शकर्ताले धेरै रिस उठ्ने मानिसलाई विभिन्न प्रश्न सोध्छ र उसको रिस मापन गर्छ । अनि त्यहीअनुसार उपचारको प्रबन्ध गर्छ ।

- नयाँ पत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!