दसैँलगत्तै वायोग्यास उत्पादन सुरु हुने

Posted on: 06 Oct, 2016

असोज २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ । 

काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । “दसैँलगत्तै पूर्णरुपमा बायोग्यास निकाल्ने काम हुन्छ”– कार्कीले भन्नुभयो । 

कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि श्रेष्ठले कामपाको वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरको तयारी छ । 

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यसलाई विस्तार गरिने कामपाले जनाएको छ । 

फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे । दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!