अझै ओझेलमा छन्, पाल्पाका पर्यटकीय गन्तव्य

Posted on: 15 Oct, 2016

(कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् । 

सेनकालीनदेखि राणाकालीन समयमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पाल्पाका पर्यटकीय गन्तव्य ओझेलमा पर्दा पर्यटकले त्यस क्षेत्रका बारेमा अझै पनि बेखर बन्दै आएका छन् । 

प्राचीनशैलीमा निर्मित यहाँका दरबार, रानीमहल दरबार, रिब्दिकोट दरबार क्षेत्र, भैरवमन्दिर, भगवती मन्दिर, अमरनारायण मन्दिर, सिद्धबाबा मन्दिर, ताल, तालभित्र मन्दिर, आदिम मानवको दाँत भेटिएको स्थान, नेवाकोट भैरवमन्दिर, सेनकालीन दरबारको भग्नावेशष, होमस्टे, तेजपात, सामुदायिक वन, मगर समुदायको संस्कृति र लद्यु जलविद्युत् आयोजनालगायतले पाल्पा पर्यटकलाई आकर्षण गर्ने स्थल भए पनि स्थानीयवासीको अग्रसरता र प्रचारका अभावमा यो ओझेलमा पर्दै आएको छ । 

तानसेनकै श्रीनगरडाँडा, भुवनपोखरीको रैनादेवी मन्दिर, अर्गली दरबार, पाल्पाको धवल पुस्तकालय, रैनादवी, बल्ढेगढी, दर्लमडाँडाको दर्लककाली मन्दिरलगायतका क्षेत्रको प्रचारप्रसार गर्नसकेको भए पाल्पामा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन्, यो क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्य हुने थियो । 

ऐतिहासिक महत्व बोकेका सम्पदासम्म पुग्न सडक सञ्जाल, खानेपानी, होटल तथा विद्युत्को उचित पहुँचका अभावमा पर्यटकीयस्थल ओझेलमा रहेको यहाँका पर्यटक व्यवसायी बताउँछन् । 

जिल्लाका ग्रामीण क्षेत्रका मठमन्दिर, दरबार, स्कुलमा काठका झ्याल, ढोका, पर्खालमा प्राचीन कलात्मकताको झल्को पाइन्छ । तर, पर्यटकीय गन्तव्यका रुपमा रहेका त्यस्ता सम्पदाको संरक्षण हुन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् । पाल्पा दरबार सङ्ग्रालयमा हेर्ने लायकका वस्तु अझै जुटाउन सकेको छैन । 

रानीमहल दरबार क्षेत्रमा सडकको पहुँच भए पनि त्यसलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय ताराबहादुर श्रेष्ठले बताउनुभयो । 

यातायात, विद्युत्, सञ्चार, होटललगायतका पूर्वाधारलाई अझै सुविधा सम्पन्न ढङ्गले निर्माण गर्न खाँचो रहेको सरोकारवाला बताउँछन् । 

भैरवस्थानस्थित एसियाको ठूलो सुनौलो आकारको त्रिशूल रहेको भैरव मन्दिरमा सुनको जलप लगाइको पित्तलको त्रिशूल पर्यटकको आकर्षणका अर्को महत्वपूर्ण सम्पदा भए पनि यसको प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकको आगमन फिलतो भएको छ । 

सोह्रौं शताब्दीमा नै निर्मित मन्दिरको मोहडा पेगोडा शैलीको तीनतले मन्दिरमा पुजारीबाहेक अरु कोहीले पनि हेर्न पाउँदैनन् । तर भूइँतलाको माथिल्लो तलामा राखिएको बटुकभैरव सबैले दर्शन र पुजा गर्दै आएको मन्दिरका सञ्चालक समितिका पूर्व सदस्य लोकनाथ शर्मा बताउनुहुन्छ । 

तानसेनस्थित अमरनारायण मन्दिरमा पर्यटकले कलात्मक अनुभव लिन त्यहाँ पुग्ने गरेका छन् । मन्दिरका झ्याल, ढोका, थाम र पर्खालमा हातले कुदेका देवीदेवता र बाघका कलात्मक मूर्तिलाई पनि व्यवस्थित गर्न सकेको छैन् । 

विश्वको सबैभन्दा ठूलो शालिग्राम रहेको यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व झनै रहेको ऋषिकेश मन्दिरका पुजारी चुरामणि तिमिल्सेनाले बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!