कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

Posted on: 21 Mar, 2017


चैत ८, पर्वत । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ । 

करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । 

करिडोर निर्माणका क्रममा नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान फुटाउँदा नदीको बीच भागसम्म नै ढुङ्गा आउने गरेको छ । यसरी ढुङ्गा आएपछि नदीमा जलयात्रा गर्न जोखिमपूर्ण रहेको नेपाल र्याफ्टिङ एसोसिएन एजेन्सी (नारा) पश्चिमाञ्चलका अध्यक्ष मीनबहादुर मगरले बताउनुभयो । 

पर्वतको कुश्मा नगरपालिका– १ नयाँ पुलबाट सुरु हुने जलयात्रामा कालीगण्डकी नदीको मोदीवेणी खण्डसम्म सहज रुपमा जलयात्रा सञ्चालन हुँदैआएको छ । तर मोदीवेणीदेखि पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीसम्मको भागमा वलयात्रा जोखिम रहेको नाराका सदस्य देव रेग्मीले बताउनुभयो । 

“अघिल्लो याममा पटक÷पटक अनुरोध गरेपछि ब्लास्टिङ कार्य रोकेर जलयात्रा गरेका थियौँ,” उहाँले भन्नुभयो । अहिलेको याममा सहज रुपमा जलयात्रा सञ्चालन गर्न अन्योल भएको छ । करिडोर निर्माण गर्ने निकायले समयको व्यवस्थापन गरेर निर्माण कार्य सञ्चालन गरे मात्र यात्राको जोखिम घट्ने उहाँको भनाइ छ । 

चालु आवदेखि जिल्ला विकास समिति पर्वतले जलयात्रा व्यवसायमा कर प्रणाली लागू गरेपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको कर सङ्कलन व्यवसायी राजन गुरुङले गुनासो गर्नुभयो । जिविस पर्वतले ठूलो र सानो गरी रु ५० देखि रु पाँच सयसम्म प्रतिढुङ्गा कर सङ्कलन गर्दै आएको छ । 

याम सुरु भएसँगै कालीगण्डकीमा दिनहँुजसो जलयात्राका लागि पर्यटक भित्रिने गरेका छन् । पोखरामा रहेका पर्यटन व्यवसायी तथा ¥याफ्टिङ एजेन्सीले पर्वतको नयाँ पुलदेखि स्याङ्जाको मिर्मी खण्डसम्म तीन दिनको जलयात्रा गराएर पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएका छन् । 

अन्य मौसमभन्दा मार्चदेखि मे महिनासम्मको याम जलयात्राका लागि उपयुक्त मानिन्छ । जलयात्राका लागि पोखराबाट दैनिकजसो ३० जनाभन्दा बढी पर्यटक कालीगण्डकी आउने गरेका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!