बढ्दो तापक्रमले पर्वतीय पर्यटन जोखिममा

Posted on: 12 Sep, 2017

भदौ २७, काठमाडौँ। विश्व तापमान र जलवायु परिवर्तनको जोखिमका कारण मुलुकका हिमशृंखला सबैभन्दा बढी जोखिममा परेको विज्ञले औंल्याएका छन् । 

नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा परेको असरलाई न्यूनीकरण गर्न आवश्यक कदम चालिनुपर्ने बताए । 

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बढ्दो तापक्रमले हिउँ पग्लेर चट्टान देखिन थालेकाले यसले पर्वतारोहणमा निकै असर पुग्ने बताउनुभयो । “बढ्दो तापक्रमले चट्टान देखिन थालेपछि आरोहणमा असहजता हुन्छ, यसबाट आरोहण र पदयात्रा रुट पनि परिवर्तन गर्नुपर्ने हुन्छ, पानीका मुहान सुक्ने भएकाले कतिपय हिमाली क्षेत्रका बस्ती नै सार्नुपर्ने समस्या आइरहेको छ,”, उहाँले भन्नुभयो । 

भूकम्पपछि विशेषतः उच्च हिमाली क्षेत्रका कतिपय स्थानमा एक ठाउँको पानीको मुहान सुकेर अर्को ठाउँबाट निस्कने क्रम देखिएको शेर्पाको भनाइ छ । जलवायु परिवर्तनले निम्त्याएका समस्याको अल्पकालीन र दीर्घकालीन समस्याको समाधानतर्फ पहलकदमी गर्नु नितान्त आवश्यक भएको औंँल्याइएको छ । 

अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) को पछिल्लो तथ्यांकानुसार अहिले हिमालमा वार्षिक ०.०५ डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको छ । हिमाली क्षेत्रको तापक्रम सन् २०३०(विसं २०८७तिर) सम्म १ देखि २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । हिमालको जति उचाइमा गयो त्यति तापक्रम बढिरहेको छ । बिहान उज्यालो हुँदा घाम हिमालमै लागेको र रातमा पनि घामको राप हिमालमै पर्ने हुँदा हिमालको तापक्रम बढेको विज्ञ बताउँछन् । जलवायु परिवर्तनले पर्वतीय र पदयात्रा पर्यटनमा कति असर पुगेको छ भनेर अहिलेसम्म यकिन अध्ययन भएको छैन । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत र चीनको तीव्र औद्योगिकीकरणले नेपालको पर्वतीय क्षेत्रमा वातावरणीय प्रभाव परेको तथा यसले पर्वतारोहण मात्र नभई पानीको मुहान जोगाउन चुनौती थपिएको उल्लेख गर्नुभयो । नेपाल व्यवस्थापन संघका पूर्वउपाध्यक्ष शम्भु रानाले जलवायु परिवर्तनको जोखिमले पर्वतीय पर्यटनमा देखापरेको समस्या र निराकरणका उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!