यी हुन् - कर्णालीको रुप फेर्न सक्ने सम्भावनाका ८ गन्तव्यहरु

Posted on: 01 Dec, 2017

मंसिर १५, कालीकोट । रोग, भोक र गरिवी । कर्णालीबाहिर कर्णाली सुन्दा सबैभन्दा पहिले मस्तिस्कमा घुम्ने चित्र यही हो । तर कर्णाली भोको छैन् । कर्णाली रोगी छैन् । गरिब पनि छैन् । कर्णाली समृद्ध छ र अथाह सम्भावना बोकेर बाँचिरहेछ । मनोरम् स्थानहरुको उचित प्रचार–प्रसार गर्न सके पक्कै पनि कर्णालीको मुहार फेरिने छ । यहाँका मानिसहरुको आयस्रोत बढ्ने छ र कर्णाली समृद्ध बन्ने छ । कर्णाली आफैमा सुन्दर छ र बनाउनु छ अब समृद्ध ।

 कर्णालीमा  राराताल र से–फोक्सुन्डोबाहेक लुकेर बसेका थुप्रै प्राकृतिक सम्पदा छन् । जसले पर्यटकहरुको मन सजिलै लोभ्याउँछ ।

से–गुम्बा

डोल्पा जिल्लाको उपल्लो डोल्पामा पर्ने से–गुम्बा विश्वका बाह्रबौद्ध गुम्बाहरुमध्ये एक मानिन्छ । यो गुम्बा प्राचीन प्यागोडा शैलीमा निर्मित छ । बौद्ध धर्मका असंख्या ग्रन्थ पाईने यस गुम्बामा पुराना बौद्ध मुर्ति छन् । राज्यको संरक्षणको अभावमा जिर्ण बन्दै गईरहेको यस गुम्बाको प्रचार प्रसार हुन सकेको छैन् । पर्याप्त प्रचार–प्रसार हुन सके यहाँ बौद्ध धर्ममा आस्था राख्ने श्रद्धालुहरुको घुइचो लाग्नसक्छ । 

१ किलोमिटर लामो पचाल झरना

कालिकोट जिल्लाको बदालकोट गाबिसमा पचाल झरना छ । चुली हिमालबाट बग्ने पानी कर्णाली नदीमा मिसिनुअघि यो झरनाका रुपमा बग्छ । सेतो पानी बग्ने यस झरना टाढाबाट हेर्दा दुध खसे जस्तै देखिन्छ । यो झरना नेपालको सबैभन्दा ठुलो र लामो झरना हुनसक्ने स्थानीयवासीको अनुमान छ । झरनाको लम्बाई १ किलोमिटर रहेको स्थानीयवासी बताउँछन्। सुर्खेत वा नेपालगंजबाट ६ देखि ८ घण्टाको बस यात्रा गरेपछि कालिकोटको सदरमुकाम मान्माबजार पुग्न सकिन्छ । त्यहाँबाट २ घण्टाको पैदल यात्रापछि पचाल झरना देख्न सकिन्छ ।

पंचदेवल

कालिकोट जिल्लाको मान्ममा अवस्थित पंञ्चदेवल पुरानो देवलहरु मध्ये एक हो । यो देवल पाँचवटा ठुला ढुङ्गाले बनेको छ । ढुङ्गामा सुन्दर ढंगले  कृत्रिम प्राचिन कलाकृति कोरिएका छन् । यस ढुङ्गा कुवामा पानी कताबाट आउँछ र निकास कता जान्छ भन्ने कसैलाई पत्तो छैन् । तर, बाह्रै महिना यो कुवाको पानी सफा र कंञ्चन नै देखिन्छ । यो देवलको निर्माण पाण्डवले गरेको हिन्दु धर्ममा किवंदन्ती छ। इतिहासविद् योगी नरहरीनाथले आफ्नो पुस्तकमा ‘इतिसम्वत् १३३६ मा मनुमृतिको सम्झनामा जुम्ली खस राजा मलय बर्माले गर्न लगाएको’ उल्लेख गरेका छन् । 

दैनिक ३ पटक सुर्य उदाउने नेप्का गाउँ

नेप्का गाउँ हुम्ला जिल्लाको श्रीमण्टा गाउमा पर्छ । यस गाउँमा १२ घण्टामा ३ पटक सुर्य उदाउने र अस्ताउने गर्दछ। बिहान जमिनमा सुर्यको किरण पर्दासाथ यस गाउँमा घाम लाग् । दिउँसो फेरि सुर्य अस्ताउछ। बेलुका फेरि सुर्य उदाउँछ। फेरि पुनः सुर्य अस्ताउँछ । यसरी नै दैनिक तीन पटक सुर्य उदाउने र अस्ताउने नेक्पा गाउँ एक पटक सबैले हेर्ने पर्ने ठाउँ हो । यसको प्रचार प्रसार हुन नसक्दा अहिलेसम्म यसका बारे कसैलाई पत्तो छैन । यसको अर्को बिषेशता भनेको यसबाट चिनियाँ बजार टाके पुग्ने छोटो बाटो पनि हो । यो बाटो टाके पुग्न रोमणीय हिमताल र हिमपुल हुदैँ जानुपर्छ । विभिन्न जडिबुडीको भण्डारको रुपमा लिईने नेप्का गाउँ यसको पाटनमा रहेका दुध दह पनि हेर्न लायक दह छ । यस दहमा दुधजस्तै सेतो कञ्चन पानी छ ।

गन्‍तब्य जुम्ला

जुम्ला जिल्ला कर्णालीको घुम्नैपर्ने अर्को गन्तव्य हो । जुम्लाको सिंजा जुम्ला जिल्लाको तातोपानी गाविसमा अवस्थित तातोपानी तिला कर्णालीको किनारमा बाह्र महिना तातोपानी बगिरहने धारा छन् । यस पानीमा एक घण्टासम्म चामल भिजाउँदा आफैँ भात पाक्ने गरेको छ । यस धारामा नुहाउँदा छाला र हाड सम्बन्धि विभिन्न रोग निको हुने विश्‍वास छ । यस पानीमा नुहाउन कर्णालीका पाँचवटै जिल्ला, भेरि अञ्चलका दैलेख र जाजरकोट सेती अञ्चलको अछाम जिल्लामा मानिस अहिले पनि जाने गर्दछन । जुम्ला जिल्लामा हेर्न लायक अर्को विषय भनेको लिताकर्णाली नदी र सिंजा खोलामा बनेको काठेपुल हुन् । प्राचीन शैलीमा कयौँ पुस्ता अघि बनेका ति काठेपुलमा विभिन्न आकृतिका चित्रहरु कोरिएका छन् । संरक्षण यी पुल जिर्ण बनेका छन् ।

जुम्ला जिल्लामा एक पटक नपुगी नहुने ठाउँ जुम्ला सिंजामा हो । कर्णाली खस राज्यको राजधानी रहेको जुम्ला सिंजामा पुराना पुराना घर भेटिन्छन् । तत्कालिन शाहवंशिय राजाहरुले कर्णालीका राजा बस्ने थुप्रै दरबार भत्काएका थिए । तर दरबारका अवशेष अझै भेटिन्छन् । सिंजाबाटै खस भाषाका रुपमा नेपाली भाषाको उत्पत्ति भएको थियो ।

मुगु छायाँनाथ मन्दिर

मुगु जिल्लाको डोल्पु र छिताई गाउँको सिमाना रहेको छायाँनाथ मन्दिर कर्णाली क्षेत्रका लागि धार्मिक आस्थाको केन्द्रका रुपमा छ । यसलाई कर्णाली क्षेत्रमा पुजिने ‘ठाकुर ज्यु’को मूख्य देवताका रुपमा पुज्ने गरिन्छ । उच्च हिमाली भेगमा रहेको यस मन्दिरमा श्रावण पुर्णिमा दिन पुजा गर्ने गरिएको छ । यस मन्दिरको पुजा गर्न कालिकोट दैलेख जुम्ला, जाजरकोट, अछाम, बाजुराका मानिसहरुको घुँइचो लाग्ने गरेको छ । हालसम्म पनि यसको प्रचार प्रसार हुन सकेको छैन् ।

राराताल

कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित राराताल नेपलको सबैभन्दा ठुलो ताल हो । कतै पनि पानीको निकास नदिखिने यो ताल समुद्री सतह देखि १० हजार फिटको उचाईमा  छ । १० वर्ग किलोमिटर फैलिएको यो तालको वरिपरि पैदल गोरेटो बाटोले अवलोकन गर्न सकिन्छ । निलो गाढा रंगको पानीले भरिएको यो तालमा सफा पानीमा पाईने माछादेखि जल बिहार गर्ने हाँस, जलेवा र कर्याङ्गकुरुङ्ग जस्ता अंसख्या प्रजातीका चरा पनि देख्न पाईन्छ । यो तालसँगै वन्यजन्तु निकुञ्ज जोडिएकोले निकुञ्जमा विभिन्न जातिका जंगली जनवार देख्न पाईन्छ । यो निकुजमा नेपालमा नै लोपोन्मुख अवस्थामा रहेको जंगली बास्नादार जनवार कस्तुरी  देख्न पाईन्छ । नेपालगंज वा सुर्खेतबाट आधा घण्टाको हवाई दृष्य अवलोकन नेपालको उच्चस्थानमा रहेको मुगुको ताल्चा विमानस्थलमा पुग्‍न सकिन्छ । विमानस्थलबाट २ घण्टाको पैतलयात्रा हिडेपछि राराताल पुग्न सकिन्छ । यसबाहेक पनि राराताल पुग्नका लागि अन्य थुप्रै मार्ग प्रयोग गर्न सकिन्छ ।

से–फोक्सुडो

कर्णाली अंञ्चलको डोल्पा जिल्लामा पर्ने से–फोक्सुडो ताल ४ दशमलव ८ किलोमिटर लामो,१ दशमलव ८ किलोमिटर चौडा र ६ सय ५० मिटर गहिरो छ । नेपालकै गहिरो तालका रुपमा परिचित से–फोक्सुडोको रंग सुर्यको प्रकाशसँगै फेरिन्छ ।  यसको सफा पानीलाई हिमश्रृंखलाले पहरा दिइरहेको दृष्य कम मनमोहक छैन् । यस तालमा पुग्नेहरुले आफुलाई स्वर्ग पुगेको महसुस गर्न सक्छन् ।

से–फोक्सुडो अर्को विशेषता भनेको यस तालसँग जोडिएको निकुञ्ज हो । ३ हजार ५ सय ५५ वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालकै सबैभन्दा ठुलो क्षेत्रफल ओगटेको निकुञ्ज हो । यस निकुञ्जमा १सय ९६ प्रजातीका चरा र ३२ प्रजातीका जंगली जनवार र ४ सय ७ प्रजातीका जंगली जडिबुडी यो निकुञ्जमा पाईन्छन् ।  से–फोक्सुडो ताल र निकुञ्जबाट रमणीय स्थलको अवलोकन गर्दै २ घण्टामा सदरमुकाम दुनै पुग्‍न सकिन्छ । यस जिल्लाको अर्को विशेषता भनेको क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला पनि हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!