पर्यटकीय गन्तव्य बन्दै बागलुङको निलुवा

Posted on: 10 Apr, 2018

बागलुङ, २७ चैत | गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ । 

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रको अगुवाइमा निलुवाको पर्यटन विकास थालिएको हो । पदमार्ग निर्माण, सम्पदा संरक्षण, प्रचारप्रसारलगायत प्रवद्र्धनात्मक काम केन्द्रले गरिरहेको छ । निलुवा लेक यसअघि किसानको गोठथरीमा मात्र सीमित थियो । 

मनोरम प्राकृतिक दृश्यावलोकनका लागि निलुवा उत्कृष्ट गन्तव्य बन्दै गएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । “यहाँको भू–बनोट, हावापानी लोभलाग्दो छ”, उहाँले भन्नुभयो, “नजिकै हिमाल देख्न सकिन्छ, पदयात्राको मज्जा पनि लिन सकिन्छ ।” 

निलुवाबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ किसानका ८० भन्दा बढी खरका परम्परागत गोठले पनि पर्यकटलाई लोभ्याउने गरेको छ । हिजोआज वस्तुभाउ पाल्न र खेतीका लागि किसान आउन छोडेपछि गोठ भने रित्तै छन् । 

किसानको पुरानो जीवनशैली झल्काउने गोठ संरक्षण गर्न केन्द्रले पहल गरिरहेको छ । घना जंगलको बीचमा उपत्यका बनेर बसेको निलुवा लेक दुई हजार ५०० मिटरको उचाइमा पर्छ । पदयात्रा, वनभोज, दृश्य छायाङ्कन, अवलोकन भ्रमण तथा ‘क्याम्पिङ’का लागि आन्तरिक पर्यटक निलुवा पुग्ने गरेका छन् । 

निलुवामा पर्यटनमैत्री पूर्वाधारको अभाव छ । खाना, आवास, खानेपानीजस्ता आधारभूत सुविधा पु¥याउन बाँकी नै छ । केही दूरीमा पदमार्ग बने पनि थप विस्तारको काम गर्नुपर्ने देखिन्छ । वडा नं ४ का अध्यक्ष बलबहादुर खत्री पर्यटन प्रवद्र्धनको काम भर्खर शुरु भएको बताउनुहुन्छ । 

“निलुवालाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर लागेका छौँ”, उहाँले भन्नुभयो, “धेरै काम गर्न बाँकी छ ।” उहाँले पर्यटन विकासमा राज्यले पनि ध्यान दिनुपर्ने बताउनुहुन्छ । नगरपालिका र वडाको तर्फबाट निलुवाको पर्यटन विकासमा सक्दो योगदान गर्ने उहाँ बताउनुहुन्छ । पर्यटन प्रवद्र्धनका लागि गत शनिबार मह शिकार ९हनी हन्टिङ० महोत्सवसमेत आयोजना गरिएको थियो । 

निलुवामै रहेको ५०० मिटर अग्लो मौरीभिरमा शिकारीले जोखिम मोलेर शिकार गरेका थिए । छत्तीस वर्षपछि गरिएको मह शिकार हेर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो । मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो । 

लेकाली हावापानीमा अवस्थित निलुवा लेक पुग्न बागलुङ सदरमुकामबाट ४५ किलोमिटर गाडीको यात्रा गर्नुपर्छ । मध्यपहाडी लोकमार्गको डाँडाखेतबाट निलुवा पुग्न दुई घण्टा उकालोमा पदयात्रासमेत गर्न सकिन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!