पर्यटक लोभ्याउँदै बागलुङको घुम्टे

Posted on: 22 Apr, 2018

रामबहादुर थापा/वैशाख ९ बागलुङ | गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । 


प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । 

गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतका अनुसार वर्षेनी हजारौँ पर्यटकले घुम्टे चढ्ने गरेका छन् । विगतमा वैशाख पूर्णिमामा मात्र मेला लाग्ने घुम्टेमा विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ समेत हुँदै आएको छ । पर्यटन प्रवद्र्धनका गतिविधिले पर्यटकको आगमन पनि बढेको अध्यक्ष बस्नेतको भनाइ थियो । “पदमार्गलगायतका पूर्वाधारका काम र प्रचारप्रसारले पर्यटकको संख्या बढ्दो छ”, उहाँले भन्नुभयो । 

प्राकृतिक सुन्दरतायुक्त घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई पनि बढावा दिएको छ । पौराणिक किंवदन्तीसँग जोडिएका ती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासमा टाढा–टाढाबाट भक्तजन त्यहाँ पुग्ने गर्छन् । 

पूजाआजा चल्ने सबै महिना र दिनमा मन्दिर दर्शन गर्न सकिने व्यवस्था छ । पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य बनेको छ । नयाँ वर्षमा घुम्टे चढ्नुभएका बागलुङ सदरमुकामवासी मनिष रायमाझीले रोमाञ्चक अनुभूति भएको बताउनुभयो । 

तीन घण्टाको पदयात्रापछि रायमाझी घुम्टेको चुचुरोमा पुग्नुभएको थियो । ‘निकै साहसिक र रोमाञ्चक भयो यात्रा,’ उहाँले भन्नुभयो, ‘घुम्टेमा पर्यटन विकाको प्रचुर सम्भावना छ ।’ केन्द्रले घुम्टे चढ्न “रिचौर, टेउवा हुँदै जाने तीन किलोमिटर पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । उक्त पदमार्ग हुँदै घुम्टेलाई फेरो मारेर पाण्डवखानीको सिद्धथान ओर्लन थप तीन किलोमिटर पदमार्ग बनाउन बाँकी छ । पाण्डवखानीबाट घुम्टे चढ्ने पर्यटकले पुरानै बाटो प्रयोग गर्ने गरेका छन् । 

पदमार्ग, मन्दिरको स्तरोन्नतिलगायतका पूर्वाधारका काममा हालसम्म रु एक करोडभन्दा बढीको काम भएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । “पर्यटन मन्त्रालय र स्थानीय जनश्रमदानमा काम भएको छ”, उहाँले भन्नुभयो, “पर्यटन पूर्वाधारका क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ ।” उपाध्यक्ष थापाले घुम्टेलाई पर्यटकीय केन्द्र बनाउन राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । प्राकृतिक सुन्दरता, हिमालमा सूर्योदय र सूर्यास्तका बेलका देखिने चमक, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जंगल आदि घुम्टेका सौन्दर्य हुन् । 

वसन्त ऋतुमा ढकमक्क फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्ने गरेका छन् । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुङ्गा, दह पानी, टोड्के पानी, नाङृभिर, पैराका सोतो शालीग्राम आदि घुम्टेका धार्मिक तथा पर्यटकीय आकर्षण हुन् । 

घुम्टेबाट गलकोटे राजाको दरबार, ‘स्टोन भिलेज’को रुपमा परिचित हरिचौर बजार, गाईघाटको झरना, गाजाको दह, गौदी र दरमखोलाका दर्जन बढी पुल, गुल्मीको टक्सार बजारलगायत दर्जनौँ आकर्षकस्थल अवलोकन गर्न सकिन्छ । 

घुम्टे क्षेत्रमा डाँफे, मुनाल, काँडेभ्याकुरलगायत सयौँथरिका चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, भालुलगायतका वन्यजन्तु पाइन्छन् । चिराइतो, पाँचआंँले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, शिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीरजस्ता औषधिजन्य जडीबुटी पाइन्छन् । 

घुम्टेको चुचुरोमा मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार वटा नाकाबाट पुग्न सकिन्छ । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी पुगे पनि त्योभन्दा माथि करीब तीन घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!