मुख्यमन्त्री शाहीको नदि किनारमा बास

Posted on: 14 Oct, 2018

असोज २८, सुर्खेत | कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शुक्रबारको एक रात पालभित्र बिताएका छन् । कर्णाली नदीमा सम्भाव्यता अध्ययन गरिरहेको वैज्ञानिकहरु सहितको नदी संरक्षण मञ्चको अभियानका क्रममा मुख्यमन्त्री शाही र पर्यटन मन्त्री बुढाले एक रात पालभित्रै बिताएका हुन् ।

दैलेखको आठबिस नगरपालिकाको डाबमा एक रात बिताएका पछि मुख्यमन्त्री शाहीले कर्णालीमा आउने पर्यटकहरुले प्राकृतिक सम्पदाको उचित फाइदा लिन सक्ने बताए । ढुङ्गाको सिरानी र बालुवाको ओछ्यान सहन सक्ने मान्छेहरुका लागि कर्णाली उचित गन्तव्य भएको मन्त्री मन्त्री शाहीले दोहोर्याए । शसस्त्र द्धन्द्धको समयमै कैयौ रात त्रिपालमुनी बिताएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिका पर्यटनको बिकास जरुरी भएको बताए ।  

कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा पर्यटनको सम्भावना अध्ययन थालेको छ । सरकार गठन भएको पहिलो बर्षलाई कानून र योजना निर्माणको बर्ष मानेको कर्णाली सरकारले विज्ञ समूहले दिएको सुझावका आधारमा कर्णाली नदीको वास्तविक सम्भावना अध्ययन थालेको हो ।


सरकारले कर्णालीको समग्र सम्भाव्यता अध्ययनका लागि एक महिना अघिदेखि नदी, जंगल र जडिबुटीलगायतका वैज्ञानिकहरुको एक समूहले कर्णालीमा खटाएको छ । उक्त समूहले कर्णाली नदीमा पर्यटकीय सम्भावना र नदीको आसपासका विभिन्न खानीको सम्भावनाबारे अध्ययन गरिरहेको बताइएको छ । वैज्ञानिकहरुको टोलीले हुम्लाको मानसरोवरदेखि कर्णालीको सीमानासम्म बिस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।


सरकारले खटाएको विदेशी वैज्ञानिकहरुको टोलीले कर्णाली नदी र त्यसको आसपासका सम्भावित खानीहरुबाट लिन सकिने लाभको बिस्तृत प्रतिवेदन मागिएको कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘कर्णाली नदीमा के सम्भावना हुनसक्छ ? त्यसबाट कर्णाली प्रदेशले कति कमाउन सक्छ ? त्यसको अनुमान वैज्ञानिकहरुको समूहले दिनेछ’ उनले भने ।


नेपाली नदी संरक्षण मञ्चले कर्णालीमा पर्यटन सम्भावनाको अध्ययन गर्न शुक्रबार र्याफ्टिङको सफल परीक्षण गरेको छ । दैलेखको माथिल्लो कर्णाली विद्युत आयोजना निर्माणस्थल आठबीस नगरपालिकाको डाबबाट चार वटा वोटमा थालिएको र्याफ्टिङमा दैलेखको तल्लो ढुङ्गेश्वरसम्म पुर्याइएको थियो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको कर्णाली नदीमा सम्भाव्यता अध्ययन गरिरहेको वैज्ञानिकहरुको टोलीले र्याफ्टिङ गरेका थिए ।

झण्डै ३० किलोमिटर र्याफ्टिङ गरेपछि कर्णाली नदी र्याफ्टिङका लागि उत्कृष्ठ विश्वकै ५ औं नदी भएको नेपाल नदी संरक्षण मञ्चका अध्यक्ष मेघ आलेले बताए । ‘कर्णालीको र्याफ्टिङ सञ्चालन गर्न सके यहाँ पर्यटन बिकासको राम्रो सम्भावना छ’ उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउनु पर्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!