सिमसार क्षेत्र वनभोज जानेको रोजाइमा

Posted on: 07 Dec, 2018

सुमन घिमिरे | मङ्सिर २१, उर्लाबारी | जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो । 

बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्रमा सबैभन्दा बढी वनभोज खान आउनेहरुको भीड लाग्ने गर्छ । राजमार्गसँगै जोडिएको भएकाले पनि बेतना सिमसार वनभोज खान र घुम्न आउनेहरुका रोजाइमा परेको हो । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको सो सिमसार क्षेत्र करीब ६५ बिघा क्षेत्रफलमा फैलिएको छ । 

समूहका अध्यक्ष डम्बर बस्नेतका अनुसार जाडो बढेसँगै वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको छ । हाल सार्वजनिक बिदा बाहेकका दिनमा करीब एक हजार जना वनभोज आउने गरेका छन् । सार्वजनिक विदाका दिन करीब पाँच हजार जनाको भीड लाग्ने गरेको छ । 

समूहले वनभोज स्थलका लागि रु ६ सय तथा वनभोज खान आउनेहरुका लागि प्रतिव्यक्ति रु १० तोकिदिएको छ । सिमसार क्षेत्र घुम्न आउनेहरुका लागि रु ३० प्रवेश शुल्क लिने गरिएको छ । समूहले सिमसार क्षेत्रलाई थप आकर्षक बनाउन २० वर्षे रणनीतिक योजनासमेत बनाएको छ । सो सिमसार क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा १ नं प्रदेश सरकारले रु १ करोड बजेटसमेत विनियोजन गरेको समूहका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । पानीले वर्षभरि नै भरिरहने ठूल्ठूला पोखरीले गर्दा बेतना सिमसार क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रुपमा राखिएको छ । साइबेरियादेखि आउने चराहरुका साथै २५ प्रजातिका दुर्लभ चराहरु, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस सिमसार क्षेत्रमा पाइन्छन् । 

यस्तै, जिल्लाको उर्लाबारी नगरपालिका – २ मा अवस्थित बेतिनी सिमसार क्षेत्र पनि वनभोज खान र घुम्न जानेहरुको आकर्षक गन्तव्य हो । करीब ६० बिघा क्षेत्रफलमा फैलिएको सो सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जाडो मौसम शुरु भएसँगै सो सिमसारमा वनभोज खान र घुम्न दैनिक तीन÷चार सय र सार्वजनिक विदाका दिन करीब एक हजारको हाराहारीमा आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम राईले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३ मंगलबारे चोकबाट करीब दुई किलोमिटर उत्तरमा सो सिमसार रहेको छ । यहाँ सडक सुविधा भएकाले सहजै पुग्न सकिन्छ । दुई वटा पोखरी रहेको सो सिमसारमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याइएको छ । 

सिमसार क्षेत्रमा वनभोज खानका लागि रु ६०० र घुम्नेहरुका लागि प्रतिव्यक्ति रु १० प्रवेश शुल्क तोकिएको छ । यहाँ बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । यो ठाउँ आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गर लगायतका जीवजन्तु पाइन्छ । सो सिमसार क्षेत्रको विकासका लागि मोरङ क्षेत्र नं १ सङ्घीय निर्वाचन क्षेत्र विकास कार्यक्रम मातहत रु १५ लाख बजेट विनियोजन गरिएको छ । उर्लाबारी नगरपालिकाले सिमसार क्षेत्रसम्म पुग्ने सडक कालोपत्र गर्न रु ३० लाख बजेट छुट्याएको छ । उर्लाबारी नगरपालिकालाई सिमसारको शहरको रुपमा घोषणा गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख खड्ग फागो बताउनुहुन्छ । 

सिमसारको शहर भनेर घोषणा गरिएको उर्लाबारीमा बेतिनीसहित लामपाते, बुढाठाकुर लगायतका अन्य सिमसार क्षेत्र पनि रहेका छन् । 

यस्तै, उत्तरी लेटाङ नगरपालिका – १ मा रहेको पर्यटकीय स्थल राजारानीमा पनि वनभोज खाने र घुम्ने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । लेटाङ बजारबाट ६ किलोमिटर उत्तर कच्ची सडक हुँदै सो स्थल पुग्न सकिन्छ । राजारानी क्षेत्रमा घुम्न, वनभोज खान तथा जङ्गलमा फुलेका सुनाखरी अवलोकन गर्न पूर्वी मोरङ, झापा र सुनसरीबाट दैनिक ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । राजारानीमा राजा, रानी र राजकुमारी नाम गरेका तीन वटा पोखरी रहेका छन् भने राजारानी मन्दिरसमेत रहेको छ । सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु १० लाख र लेटाङ नगरपालिकाले रु ६ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष विष्णु मगरले राससलाई जानकारी दिनुभयो । 

उत्तरी मोरङकै केराबारी गाउँपालिका – २ मा रहेको जेफाले डाँडामा पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । धनकुटा जिल्लासँग जोडिएको जेफाले डाँडाबाट बिहानै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । जेफालेमा रहेको चिया बगानमा घुम्न र स्थानीय संस्कृतिको अध्ययन गर्न पनि आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । जेफाले गाउँमा होमस्टे सञ्चालन हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो । यहाँ हाल सात वटा घरमा होमस्टे सञ्चालित छ भने एक रातमा ५० जना पर्यटक खान र बस्न सक्छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका – ५ मा अवस्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । सुन्दरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसबारी चौकबाट करीब ६ किलोमिटर उत्तरमा अवस्थित सो सिमसार पुग्न सकिन्छ । बाह्रै महिना जरुवा पानीको मूलसमेत रहेको सो सिमसार क्षेत्र करीब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । विभिन्न देवीदेवताका मन्दिर, विभिन्न प्रकारका वनस्पति, जीवजन्तु र पशुपक्षीहरुको बासस्थानसमेत रहेको सो क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि समेत उपयोगी रहेको छ । जिल्लामा रहेका बाघझोडा, चुलीपोखरी, सुनवर्षी पोखरी, नेसेलुङ डाँडालगायतका पर्यटकीय क्षेत्र पनि वनभोज खानेहरुका लागि आकर्षक गन्तव्य हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!