विदेश उडान गर्ने श्री एयरलाइन्सले पायो अनुमति

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौँ  | विदेश उडान गर्ने नेपाली एयरलाइन्स थपिएको छ। सन् २०१७ देखि आन्तरिक उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडान गर्ने लाइसेन्स पाएसँगै नेपालबाट विदेश उडान गर्ने नेपाली एयरलाइन्सको संख्या ४ पुगेको छ।

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरमा सन्तोषजनक व्यापार गर्न नसकिरहेको समयमा श्री एयरलाइन्सको इन्ट्री भएको हो। हाल हिमालय, नेपाल एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।

२ दशकदेखि हेलिकप्टर व्यवसायको अनुभव भएको श्रीसँग हेलिकप्टरको अन्तर्राष्ट्रिय उडानको लाइसेन्स थियो। उक्त लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स माग गर्दै श्रीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको थियो।

मन्त्रालयले शुरुमा चार्टर्ड उडानको लाइसेन्समात्र दिएको थियो। यद्यपी योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर आउनेवित्तिकै श्रीले नियमित व्यावसायिक उडानको अनुमति पाएको हो।

श्रीले भारतका चार सहर र ब‌ंगलादेशको ढाँकामा उडान गर्न अनुमति माग गरेको थियो। एयरलाइन्सका प्रवक्ता अनिल मानन्धकारका अनुसार श्रीले भारतका अहमदाबाद, नयाँ दिल्ली, कलकत्ता बैंगलोरमा उडान गर्ने अनुमति पाएको हो।

यसका लागि श्रीले लाइसेन्स बापत ५० लाख रुपैयाँ सरकारलाई बुझाएको छ। त्यस्तै प्रति सेक्टर ५ लाखका दरले २० लाख रुपैयाँ पनि बुझाएको छ। तीवटा जहाजबाट उडान गर्ने योजना बनाएको एयरलाइन्सले ५० करोडमाथिको चुक्ता पुँजी बनाउनुपर्ने छ।

एयरलाइन्सले क्यानेडियन जहाज निर्माता बम्मार्डियरका सिआरजे २०० र सिआरजे ७०० जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!