कात्तिकदेखि बेइजिङ उडान गर्दै हिमालय एयरलाइन्स

Posted on: 18 Aug, 2019

भादौ १, काठमाडौँ  | नेपालबाट विदेशमा उडान गर्ने हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ उडानको तयारी गरिरहेको छ। बेइजिङमा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न हिमालयले टिकेटिङदेखि उडानदलका सदस्य नियुक्त गर्ने कामलाई तीब्रता दिएको हो। 

कात्तिकदेखि काठमाडौं बेइजिङ उडान गर्ने तयारीमा रहेको एयरलाइन्सले अहिले टिकेटिङ र जनशक्ती व्यवस्थापनको तयारी गरिरहेको छ ।बेइजिङको नयाँ विमानस्थलमा नियमित व्यावसायिक उडानका लागि अन्तिम प्रशासकीय अनुमति पाउन बाँकी रहेको एयरलाइन्सले अहिले आन्तरिक तयारीलाई पनि सँगै अघि बढाएको हो ।

बेइजिङ उडानकै लागि एयरलाइन्सले २५ जना क्रु मेम्बर(उडानदल सदस्य) माग गरिसकेको छ। यसका लागि छनौटको काम भइरहेको एयरलाइन्स सम्बद्ध स्रोतले जानकारी दिएको छ। यसमा एयरलाइन्सले विशेषगरी चिनियाँ भाषा जानेका नेपाली नागरिक माग गरेको छ।

त्यस्ते बेइजिङमा प्रबर्द्धन र टिकेटिङका लागि एयरलाइन्सले एजेन्सी कन्ट्र्याक्टको काम पनि अघि बढाएको छ।

' सम्भवत् हामी कात्तिकदेखि काठमाडौं-बेइजिङ नियमित व्यावसायिक उडान गर्छौं' एयरलाइन्स स्रोतले भन्यो'बेइजिङको नयाँ विमानस्थलमा उडान गर्ने अन्तिम स्वीकृति पाएसँगै हामी यसको औपचारिक घोषणा गर्छौ।'

यसअघि एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने अनुमति पाएको थियो।

चीनको तीब्बत एयरलाइन्सले ४९ प्रतिशत लगानी रहेको एयरलाइन्सले हाल साउदी अरबको दमाम, दुबई, आबुदाबी, ब‌ंगलादेशको ढाका, कतारको दोहा,मलेसियाको क्वाललम्पुर उडान गरिरहेको छ। एयरलाइन्सले भारतको नयाँ दिल्ली उडान अनुमति भने अझै पाएको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!