सरकारद्वारा नेपाल भ्रमण वर्षको गीत रचना गर्न आहृवान, उत्कृष्टले पुरस्कार पाउने

Posted on: 05 Dec, 2019

मङ्सिर १९, काठमाडौँ | सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत-संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत-संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आहृवान गरेको जनाएको छ ।

सचिवालयका अनुसार, गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ ।

गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन भनिएको छ । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने सचिवालयले जनाएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!