भोलिको लागि चिटिक्क रङ्गशाला

Posted on: 31 Dec, 2019

पुष १५, काठमाडौँ (रासस) | प्यारापिटमा पानी हालेर सरसफाइ भइरहेको छ । मञ्चको सजावट र अत्याधुनिक साउन्ड सिस्टम जडान धमाधम चलिरहेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयका संयोजक सुरज वैद्य र कर्मचारी आज बिहानदेखि थलामै खटिएर अनुगमन र तयारीका काममा जुटेको देखिन्छ । राष्ट्रियस्तरका टेलिभिजन र सञ्चारकर्मी भ्रमण वर्ष उद्घाटनको समाचार सङ्कलन र उद्घाटनको प्रत्यक्ष प्रसारणको तारतम्य मिलाँदैछन् । नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको प्रतीक चिह्न अङ्कित ब्यानर र ध्वजा फहराउन थालेका छन् । ठूल्ठूला बेलुनमा हावा भरिएको छ । राष्ट्रिय चिह्न र पर्यटकलाई आकर्षण तुल्याउने चित्र र मूर्ति कक्षमा राख्न थालिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि रङ्गशाला हुने उद्घाटन समारोह प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । 

काठमाडौँको दशरथ रङ्गशालासहित मुलुकका सातै प्रदेशमा एकैसाथ उद्घाटन हुने भ्रमण वर्षको पहिलो दिन (जनवर १ तारिख) का लागि विदेशी विशिष्ट पाहुना आउने क्रम शुरु भइसकेको छ । भ्रमण वर्षले झपक्कै छोपेपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको खेल रङ्शालाबाट स्थान सारेर सतदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा लगिएको छ ।

सङ्घीय सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को बुधबार  औपचारिक उद्घाटनको  तयारी गरेको हो । यो यही रङ्गशाला हो, जुन मङ्सिर १५ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा पनि सिँगारिएको थियो । एक महिना नपुग्दै अर्को ठूलो कार्यक्रम हुने भएपछि भूकम्पपछि पुनःनिर्मित रङ्गशालाको रौनक बढेको छ । 

सो स्थलमा आज दिउँसो आतसबाजी र कलाकार टोलीसहित पूर्वाभ्यास गरिएको छ । उद्घाटन सत्रमा कुटुम्ब ब्यान्डको विशेष प्रस्तुति रहनेछ । मुलुकका सातै प्रदेशको संस्कृति झल्कने प्रस्तुति तथा ख्यातिप्राप्त कलाकारको सहभागिता रहनेछ । तयारीको अनुगमनका लागि आज साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र उच्चपदस्थ अधिकारी स्थलमा पुग्नुहुनेछ ।  सचिवालयका संयोजक वैद्यले रासससँग कुरा गर्दै भन्नुभयो, ‘‘उद्घाटन समारोहलाई भव्य बनाउन सम्पूर्ण तयारी आज साँझसम्म सकाइने छ । उद्घाटन कार्यक्रम ऐतिहासिक हुने छ ।’’ 

रङ्गशालाका चारै किनारामा ऋषिमुनिका मूर्ति राखिएका छन् । उद्घाटन सत्रमा भ्रमण वर्षाङ्कित ठूलाठूला सेतो बेलुन उडाइनेछन् । उद्घाटनका दिनमा आतसजबाजीसमेत गरिने कार्यक्रम छ । 

उद्घाटन समारोहमा नै विभिन्न सङ्गीत ब्यान्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ । नेपालको संस्कृति, सम्पदा, वेशभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको संयोजक वैद्यले बताउनुभयो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे भ्रमण वर्ष उद्घाटन गर्नुहुनेछ । समारोहमा छिमेकी भारत र चीनका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनाबाट समेत सम्बोधन गर्ने कार्यक्रम  छ । उद्घाटन समारोहमा करीब १२ हजारलाई निमन्त्रणापत्र पठाइसकेको संयोजक वैद्यले जानकारी दिनुभयो । 

समारोहमा म्यान्माका पर्यटनमन्त्री पनि आउने कार्यक्रम छ । केही समय पहिले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणपछि नेपालमा चिनियाँ पर्यटक बढ्न थालेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित सरकारले आर्थिक समृद्धिको जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्न अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि भ्रमण वर्षको थालनी गर्न लागेको हो । 

उद्घाटन समारोहमा १९ देशका उच्च अधिकारी आउनेछन् । उहाँले नेपाललाई अन्तरराष्ट्रिय रुपमा परिचित गराउनका लागि ५० जना विदेशी मिडियाका सञ्चारकर्मी आउने भएका छन् ।  भ्रमण वर्षको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण सातै प्रदेशमा फ्लेक्समार्फत पनि सर्वसाधारणले हेर्न सक्ने व्यवस्था गरिएको छ । सातै प्रदेशमा मुख्यमन्त्रीको समन्वयमा स्क्रिन हालेर काठमाडाँैमा भएको उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । उद्घाटनका लागि सचिवालयले करीब रु चार करोड खर्च गर्ने अनुमान गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार भ्रमण वर्षको पूर्वसन्ध्यामा डिसेम्बर २५ देखि नै विभिन्न कार्यक्रम गरिएको छ । आज साँझ ठमेललगायत स्थानबाट दीपावली गरी भ्रमण वर्षको पूर्वशुरुआत गरिएको छ । भ्रमण वर्षको उद्घाटन समारोहमा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रवेश–पासको व्यवस्था गरी सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अपराह्न ४ बजे उद्घाटन हुने कार्यक्रममा सर्वसाधारणलाई ३ बजे नै रङ्गाशाला पुग्न भनिएको छ । 

उद्घाटन समारोहका दिन दशरथ रङ्गशालामा सेतो, पहेलो र नीलो  रङका पास वितरण गरिएको छ । सर्वसाधारणका लागि, पहेँलो विशिष्ट पाहुनाका लागि र नीलो अति विशिष्ट पाहुनाका लागि विशेष कार्ड बनाइएको छ । सञ्चारकर्मीका लागि विशेष पास तथा स्थान छुट्याइएको छ । उद्घाटन समारोह हुनुभन्दा अगाडि ३:४५ बजे रङ्गशालाको मूलढोका बन्द गरिनेछ । सो स्थलमा सबै ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।   समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र  मन्त्रिगणको उपस्थिति हुनेछ । समारोहमा मुख्य राजनीतिक दलका शीर्षस्थ नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी हुनुहुनेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!