अनलाइन निर्देशिका संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन

Posted on: 21 Jun, 2016

असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन्दै मंगलबार महासङ्घले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गरेलगत्तै मन्त्री राईले सो कार्यदल गठन गरेका हुन् ।

मन्त्री राईले संविधानको भावना र प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले कुनै निर्णय लिने कुरा सोच्न नसकिने बताउँदै सम्बन्धित क्षेत्रको रायका आधारमा दुई दिनभित्र परिमार्जन गरेर निर्देशिका कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घका अध्यक्ष महेन्द्र विष्टले संविधानविपरीत सञ्चारसम्बन्धी कुनै निर्देशिका नल्याउन तथा अनलाइन मिडियालाई स्वनियम गराउन आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!