पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट

Posted on: 09 Jun, 2020

जेठ २७, स्याङ्जा । पर्वतीय पर्यटन प्रवद्र्धन गर्न भिरकोट नगरपालिका योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यमबाट नगरको विकासका साथै नगरवासीलाई रोजगारीसमेत दिने भन्दै नगरपालिका  योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं विभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर ती क्षेत्रको वृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख छायाँराम खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी नगरभित्र सम्भावना भएका पर्यटकीय एवं धार्मिक क्षेत्रहरुको संरक्षण गर्दै यी क्षेत्रहरुको बृहत्तर विकासका लागि योजना बनाइरहेका छौँ, योजनालाई अन्तिम रूप दिइसकेपछि कामको शुरुआतमा लाग्ने छौँ ।”

 प्याराग्लाइडिङका लागि निकै उपयुक्त ठाउँको रूपमा रहेको सो नगरपालिका–५ मा पर्ने स्वरेक मैदान स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको यस क्षेत्रसँगै अन्य ठाउँमा समेत भौतिक निर्माणका कामसमेत भइरहेका छन् । अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितासमेत सम्पन्न भइसकेको स्वरेक मैदान जाने सडकका साथै पर्यटकको बसाइका साथै आवश्यक पर्ने अन्य भौतिक निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

गुरुयोजनाभित्र भिरकोट नगरपालिका–५, ८ र ९ को समिपमा रहेको चितपानी फलातेमा ताल निर्माणदेखि स्वरेक मैदानदेखि गडहरे गुफा र ओखतीपानी होमस्टेलाई साइकलमार्गले जोड्ने योजनासमेत रहेको छ । विष्णु भगवान्को मूर्ति निर्माण गर्नुका साथै स्वरेक मैदानमा रहेको सल्लाघारीमा मिनी चिडियाखानासमेतको निर्माण गरिने गुरुयोजनामा रहेको छ । वृहतर पर्वतीय पर्यटन विकास गुरुयोजनालाई अन्तिमरूप दिनुपूर्व त्यस ठाउँको स्थलगत अवलोकनसमेत गरिएको वडा नं ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!