राससकर्मी जमुना वर्षा शर्मा 'पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७' बाट सम्मानित

Posted on: 04 Nov, 2020

कात्तिक १९, गण्डकी । राष्ट्रिय समाचार समिति (रासस)का पोखरा समाचारदाता जमुना वर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित हुनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले रु १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट उहाँलाई सम्मान गर्नुभएको हो ।

पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा उद्योगमन्त्री लम्सालले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवद्र्धनमा लागेको जानकारी दिनुभयो । कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक रु १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताउँदै उहाँले प्रकृति, संस्कृतिका साथै साहसिक पर्यटन यहाँको विशिष्टता भएको उल्लेख गर्नुभयो । कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको रु एक अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष टीकाराम सापकोटाले रु पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताउनुभयो । कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उहाँले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभयो । 

टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै सङ्कटमा परेको बताउनुभयो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटालगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गर्नुभयो । अधिवेशन तथा साधारणसभाका अवसरमा सङ्घका तर्फबाट नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि रु ५० हजार उपलब्ध गराइएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!