आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक भित्रिए

Posted on: 04 Sep, 2021

भदौ १९, काठमाडौँ (रासस)। सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । 

अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् । 

अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र  पर्यटक आएका थिए । कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्क छ । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ ।

बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका बताउनुभयो । उहाँका अनुसार यो वर्षको जनवरी महिनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!