नगरकोटमा पर्यटक प्रहरी पोस्टको उद्घाटन

Posted on: 13 Sep, 2016

भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज उद्घाटन गरियो । 

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले पोस्टको उद्घाटन गर्नुभएको हो । 

उहाँले पर्यटकको सुरक्षाका लागि प्रहरी आवश्यक पर्ने महसुस गरी २०३५ सालदेखि सुरु भएको पर्यटक प्रहरी सेवालाई सबै पर्यटकीय क्षेत्रमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । 

नेपाल आएका पर्यटकको दिनहुँ जसो केही न केही सामान चोरी हुने भइआएका बताउँदै उहाँले पर्यटन प्रहरीको परिचालनबाट देशको छवि सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा पर्यटन विभागका निर्देशक कोशनाथ अधिकारीले पर्यटन प्रहरीका लागि करिब रु १५ लाखको लागतमा दुई कोठे भवन र भान्छा कोठा निर्माण गरेको जानकारी दिनुभयो । 

पर्यटन प्रहरीका प्रमुख प्रहरी निरीक्षक तुलसा खतिवडाका अनुसार अहिले नेपालभर २५ ठाउँमा पर्यटकीय प्रहरी पोस्टको स्थापना गरिएको छ र २२७ जना पर्यटक प्रहरी कार्यरत रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!