५० हजार घुससहित नापीका प्रमुख साह पक्राउ

Posted on: 12 Apr, 2018

चैत २९ उदयपुर | स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् । 

आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्वाटरबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले साहलाई रु ५० हजार घुससहित पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले बताएको छ । 

साहले त्रियुगा नगरपालिका–१० बस्ने बोक्सेका एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्तास्वरुप ग्राहकबाट रु पचास हजार आज बिहान ८ बजे क्वाटरमा नै लिएको स्वयं सेवाग्राहीले बताए । 

साहले घुस लिनेबित्तिकै तत्कालै सेवाग्राहीले अख्तियारलाई खबर गरेपछि अख्तियारको टोली कार्यालय पुगेर जाँच गर्दा हाकिम साहको सिरानबाट रु ५० हजार बरामद गरेको पनि क्षेत्रीय अख्तियार प्रमुख प्रदीपकुमार कोइरालाले बताउनुभयो । 

यसभन्दा अघि पनि हाकिम साहले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो बढ्न थालेपछि साह अख्तियारको निगरानीमा रहँदै आएको अख्तियारले बताएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!